काठमाडौँ, ९ चैत /रासस
नेपालले मलेसियालाई पराजित गर्दै त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरी शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । नेपालले दिएको २१८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको मलेसियाले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।
मलेसियाका अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौकासहित सर्वाधिक ४१ रनको योगदान दिए । त्यस्तै कप्तान अहमद फाइजले ३१, विरनदीपसिंहले १३, फ्टिी सामले १४ तथा मोहम्मद वाफिकले १२ रन बनाए ।
बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन ÷तीन विकेट लिए भने सुसन भारीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।
नेपालका लागि करण केसीले सर्वाधिक ४५ रनको योगदान दिए । आसिफ शेखले ४२ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले १९, कुशल भुर्तेलले १६ तथा विनोद भण्डारीले ८ रन जोडे ।
बलिङतर्फ मलेसियाका फ्रिटी साम, अनवार रहमान र सैद अजिजले २–२ विकेट लिए । नेपालले ४ खेलमा ३ जीत र १ मा हारसहित ६ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा रह्यो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९–९ विकेटले हराएको थियो । नेदरल्यान्ड्सँग दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।
त्यसैगरी नेदरल्यान्ड्स ४ खेलमा २ मा जीत, १ मा हार र १ मा बराबरीका साथ ५ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ४ खेलमा ३ हार र १ मा बराबरीका साथ १ अङ्क जोड्दै पुछारमा रह्यो । अब नेपाल र नेदरल्यान्ड्सवीचको फाइनल खेल शनिबार हुनेछ ।