neapl investment mega bank
  • गृहपृष्ठ
  • स्व सिके प्रसाईंकी धर्मपत्नी गिरिराजकुमारीको निधन

स्व सिके प्रसाईंकी धर्मपत्नी गिरिराजकुमारीको निधन

Mar 24th, 2021

झापा, ११ चैत /रासस

प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली कांग्रेसका नेता सिके प्रसाईंकी धर्मपत्नी गिरीराजकुमारी प्रसाईंको निधन भएको छ । उहाँको ९० वर्षको उमेरमा मङ्गलबार राति निधन भएको हो ।

राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय रहनुभएकी उहाँले २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा झापा साविक क्षेत्र नं २ बाट वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्नुभएको थियो । पार्टीको गुटगत राजनीतिका कारण उहाँ पराजित हुनुभएको जानकारहरु बताउँछन् ।

नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली जनताका वाक्, प्रकाशन स्वतन्त्रता जस्ता अधिकार प्राप्तिका लागि आवाज बुलन्द गरेवापत तत्कालीन पञ्चायती सरकारले सर्वस्वहरणसहित जीवनसाथी सिके प्रसाईंलाई देश निकालाको कारवाही गर्दासमेत प्रजातन्त्र प्राप्तिको आन्दोलनबाट विचलित हुन नदिई अघि बढ्न उहाँले उत्प्ररित गर्नुभएको नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापाले बताउनुभयो ।

सिके प्रसाईंसँगै राजनीतिमा सक्रिय रहनुभएकी स्व प्रसाईंको जन्म १९८८ साल कात्तिक १७ गते ललितपुरको कुमारीपाटीमा बुबा क्याप्टेन गन्जबहादुर र आमा चन्द्रकुमारी कार्कीका १३ सन्तानमध्ये माइली छोरीका रूपमा जन्म भएको थियो । स्व प्रसाईंका छोरा विवेककेशरी, बुहारी सङ्गीता, छोरीहरू रमिता र नम्रता हुनुहुन्छ । दिवङ्गत प्रसाईंको आजै दिउँसो १ बजे कन्काई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको ।