neapl investment mega bank
  • गृहपृष्ठ
  • उपचारका लागि काठमाडौँ र पोखारा जानु नपर्ने गराउँछौँ : मुख्यमन्त्री गुरुङ

उपचारका लागि काठमाडौँ र पोखारा जानु नपर्ने गराउँछौँ : मुख्यमन्त्री गुरुङ

Mar 23rd, 2021

लमजुङ, १० चैत /रासस

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङबासीलाई उपचारका लागि काठमाडौँ, पोखराका अस्पताल जानुपर्ने बाध्यता अन्त्य गर्ने विश्वास दिलाउनुभएको छ । प्रदेशका सबै जिल्ला अस्पतालको गुणस्तर बढाएर उच्चस्तरको सेवा उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशानालय पोखराद्वारा आज आयोजित दुईदिने बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले गाउँगाउँका स्वास्थ्यचौकी र जिल्ला अस्पतालको क्षमता वृद्धि गरेर बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने योजना प्रदेश सरकारले बनाएको बताउनुभयो । यस वर्षभित्रै प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेका जिल्ला अस्पतालमा पाँच श्ययाको अक्सिजन प्यान्ट राखेर सेवा दिने व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, मनाङ र मुस्ताङबाहेकका नौ जिल्ला अस्पतालमा ५० श्यया पु¥याउने योजनाअनुरुप प्रदेश सरकार अघि बढेको उहाँले बताउनुभयो । प्रदेशका जिल्ला अस्ताललाई नमूना जिल्ला अस्पतालका रुपमा विकास गर्दै सोहीअनुसार बिरामीलाई सेवा दिनका लागि प्रदेश सरकार लागिरहेको उहाँको भनाइ छ ।

त्यस्तै, गण्डकी युनिभर्सल टिचिङ अस्पताल यस वर्षबाटै शुरु गर्ने तयारीमा रहेको भए पनि पर्याप्त जमीन भने भेटी नसकेकाले जमीनको खोजिमा सरकार रहेको मुख्यमन्त्री गुरुङले बताउनुभयो । प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढिरहेकाले गरिब उपचारबाट वञ्चित हुन नपर्ने उहाँको भनाइ छ ।

क्व्होलासोथर गाउँपालिका अध्यक्ष प्रेम घले, उपाध्यक्ष एवं मुख्यमन्त्री गुरुङको धर्मपत्ती कुमारीमुनी गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीलगायतले यस सञ्चालित शिविरले आर्थिक अभावले उपचार गर्न नसकेका नागरिक तथा बिरामीलाई सहयोग पुग्ने भन्दै यस शिविरमा सहभागी बनेर स्वास्थ्य जाँच गर्न आग्रह गर्नुभएको थियो । दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा यस गाउँपालिकाका घलेगाउँ, भुजुङ, मालिङलगायत गाउँपालिकाका स्थानीय लाभान्वित हुने भएका छन् ।