neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘दुईवर्ष मध्यपुरथिमिको विकासमा निरन्तर लाग्नेछु’

‘दुईवर्ष मध्यपुरथिमिको विकासमा निरन्तर लाग्नेछु’

Mar 21st, 2021

भक्तपुर, ८ चैत /रासस

प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई आर्थिक विकाससँग जोडेर सफल पार्नुपर्ने बताउनुभएको छ ।

रु ५० लाखको लागतमा मध्यपुरथिमि नगरपालिका–९, राधेराधेको आस्थामार्गमा आठ मिटर चौडा बाटो विस्तार र शहरी विकास तथा भवन निर्माण विभागबाटै विनियोजित रु २५ लाखको लागतमा मध्यपुरथिमि–५ राधेराधे क्षेत्रको गुहेश्वरी हनुमन्ते मार्गमा १४ फिट चौडा सडक गरी एकै दिन एक घण्टाको फरकमा दुई सडक विस्तार एवं ढलानको आज उहाँले शिलान्यास गर्नुभएको छ ।

यसक्षेत्रमा हनुमन्ते करिडोर निर्माण भएकाले डुबानमा पर्न छाडेको चर्चा गर्दै उहाँले आगामी जेठसम्ममा हनुमन्ते करिडोरका सबै काम पूरा गर्ने बताउनुभयो । हनुमन्ते करिडोर बन्न नदिन माफियाको गिरोह नै सक्रिय रहेका उल्लख गर्दै उहाँले विगत दुई वर्षदेखि करिडोर क्षेत्रमा परेको साख कम्पनीको पर्खाल भत्काउन आयोजनाले ताकेता गर्दा पनि नभत्काएर अवरोध पु¥याएपछि सूर्यविनायक नगरपालिका र जिल्ला प्रशासन कार्यालयले डोजर लगाएर भत्काउनु परेको सुनाउनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, “भूकम्पले भत्काएको पर्खाल नलगाउन आग्रह गर्दा पनि साख कम्पनीले मानेन, करिडोर निर्माण रोकिएकाले पर्खाल भत्काउन दुई वर्षदेखि पटकपटक सूचना जारी गर्दा पनि अटेर ग¥यो, अदालतमा परेको मुद्दा पनि करिडोरकै पक्षमा फैसला भयो, अनि बाध्य भएर पर्खाल भत्काएर करिडोर निर्माण अगाडि बढाएको छ, अब रोकिन्न ।”

आगामी जेठसम्ममा हनुमन्ते करिडोर निर्माण पूरा गर्न नसके रु दुई अर्ब रकम फिर्ता जाने जनाउँदै उहाँले विकास रोकेर बजेट फिर्ता पठाउन खोज्ने माफियालाई लखेट्न हातमा लाठो लिएर यहाँका जनता प्रतिकारमा उत्रिनुपर्ने बताउनुभयो ।

मध्यपुर थिमिका भित्रि सडक नबनेकामा स्थानीयवासीले गुनासो गरेको कुरा उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले भन्नुभयो, “तपाईँहरु ढुक्क हुनुहोस्, अब थिमिको विकासमा हरेक दिन मेरो पहल रहने छ, उपत्यका विकास प्राधिकरण र शहरी विकास विभागबाट बजेट ल्याएर थिमिको भित्री बस्तीका सडक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु, हरेक दिन अब कुनै न कुनै विकासको शिलान्यास, उद्घाटन र अनुगमनमा म सक्रिय रहने छु ।”