काठमाडौ, चैत ७
पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्युआर भुक्तानीलाई तिब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो । शुक्रबार कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर मार्फत भुक्तानी गर्दै डिजिटल मलेखु बजारको उद्घाटन गरेका हुुन । उनले विभिन्न व्यवसायीहरुलाई क्यूआर कोड समेत हस्तान्तरण गरेका थिए । यो सँगै मलेखुका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।
शुक्रबार डिजिटल बजार उद्घाटन गर्दै बेनीघाट रोरांग गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले सुरक्षित कारोबारका लागि क्यूआर प्रविधि अत्यन्त उपयोगी रहेकाले बेनीघाट नगरपालिकाका व्यवसायीलाई प्रविधिको प्रयोग गर्न आग्रह गरे । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगले व्यवसायी तथा बैंकको संम्बन्ध नयाँ उचाइमा पुर्याउने बताए । व्यवसायीहरुले बैंकिङ्ग माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए । कार्यक्रममा एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकाललले मलेखु बजार राजधानी छिर्ने नाकाको मुख्य बजार भएको हुनाले यो बजारलाई डिजिटल बजारकारुपमा विकास गरेर उदाहरणीय बनाउन आवश्यक रहेको बताए ।
शुक्रबार मलेखुमा भएको कार्यक्रममा बैंककातर्फबाट बैंकको संचालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । कलाकार सन्दिप क्षेत्री, धर्मेन्द्र सेवान, रुसान श्रेष्ठले प्रस्तुती दिएका थिए । कुमारी बैंक लिमिटेड टेक्नोलोजिमा आधारित बैंकिङ्गलाई प्रवद्र्धन गर्ने अग्रणी बैंक हो । बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिनमार्फत सेवा प्रदान गर्दै आएको छ ।
फोन पे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने २ लाख ६० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड २५ लाख भन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोन पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड ’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।