neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोभिड–१९ महामारीमा हिरासत गृहहरुमा संकट बढ्दै जाँदा कैदी–बन्दीहरूलाई बिर्सिइयो- एम्नेस्टी

कोभिड–१९ महामारीमा हिरासत गृहहरुमा संकट बढ्दै जाँदा कैदी–बन्दीहरूलाई बिर्सिइयो- एम्नेस्टी

Mar 18th, 2021

काठमाडौ, चैत ५

एम्नेस्टी इन्टरनेसनलको एउटा नयाँ प्रतिवेदनले कोभिड–१९ महामारीको बेला हिरासत गृहहरुमा संकट बढ्दै जाँदा कैदी–बन्दीहरूलाई बिर्सिइएको उल्लेख गरेको छ । प्रतिवेदन अनुसार भाइरस संक्रमणलाई रोकथाम गर्ने क्रममा कारागारहरूले प्रणालीगत चुनौतीहरूलाई सामना गर्नुपरेको कारण कोभिड–१९ महामारीको बेला विश्वभरीका कैदी–बन्दीहरू बिस्मृतिमा परेका हुन । साथै कोभिड नियन्त्रणका उपायहरूका कारण मानवअधिकारका गम्भीर उल्लङ्घनहरू पनि भएका छन् । अत्यधिक भीडभाडपूर्ण अवस्थाका थुनुवा कक्षहरूमा रहेका लाखौं व्यक्तिहरूलाई राष्ट्रिय खोप कार्यक्रममा समेट्न एम्नेस्टी इन्टरनेसनल आह्वान गर्दछ ।

कारागारमा बिर्सिएकाहरूः

कोभिड–१९ र कारागार प्रतिवेदनले विश्वभरी एक करोड दश लाख भन्दा बढी मानिसहरू कारागारमा रहेका र धेरै देशका कारागारहरू रोग सङ्क्रमणको केन्द्र बन्ने जोखिम बन्दै गइरहेको कुरा उजागर गरेको छ । धेरै कैदीहरूले साबुन, उचित सरसफाइ अथवा व्यक्तिगत सुरक्षात्मक उपकरणको पहुँचका लागि सङ्घर्ष गर्नु परेको छ भने भौतिक दूरी कायम गर्न गाह्रो छ र उनीहरूका लागि स्वास्थ्य सेवा पनि सीमित रूपमा मात्रै उलपब्ध छ ।

“विश्वभरीका कारागारहरूमा कोभिड–१९ लगातार रूपमा फैलिरहेको अवस्थामा सामाजिक दूरी कायम गर्न भएको अत्यधिक एकान्तवासको प्रयोग र त्यसबाट सिर्जना हुने हानिकारक असरलाई कम गर्ने अपर्याप्त उपायहरूलगायत सरकारले रोग संक्रमण रोकथाम गर्न अपनाएका अन्य उपायहरूले मानवअधिकारको उल्लङ्घन भएको छ,“ एम्नेस्टी इन्टरनेसनलका अनुसन्धान र वकालत निर्देशक नेत्सानेट बेलेले भने ।

सरकारहरूले अद्यावधि र विश्वसनीय जानकारी सार्वजनिक रूपमा प्रदान गर्न नसकेका कारण कारागारहरूमा कोभिड–१९ संक्रमण र यसबाट भएको मृत्युको वृहत मूल्यांकन गर्न गाह्रो छ । यद्यपि उपलब्ध तथ्यांकले विश्वभरका कारागारहरूमा कोभिड–१९ संक्रमणको चिन्ताजनक अवस्था रहेको सङ्केत गरेको छ । साथै खोप वितरणसम्बन्धी रणनीति र योजनाले आकार लिन सुरू गरको भएपनि धेरै सरकारहरू विशेष जोखिममा रहेका कैदीहरूलाई खोप लगाउने योजनाबारे मौन छन् ।

जोखिमपूर्ण र अत्यधिक भीडभाड

भीडभाडलाई आजकाल कारागारहरूमा भएको सबैभन्दा गम्भीर समस्याहरू मध्ये एउटा समस्याको रूपमा व्यापक रूपमा स्वीकारिएको छ । करिब १०२ देशहरूले आफ्ना कारागारमा क्षमता भन्दा ११०% बढी कैदी राख्ने गरेको उल्लेख गरेका छन् र यी कैदीहरूमध्ये धेरैजसो अहिंसात्मक अपराधको अभियोग लागेका वा दोषी ठहर्याइएकाहरू छन् ।

रिहा गर्न मिल्ने खालका कैदीहरूलाई रिहा गर्नका निम्ति केही कदमहरू चालिएको भएपनि भाइरसले प्रस्तुत गरेको ठूलो जोखिम सम्बोधन गर्न वर्तमानको रिहाइ दर अपर्याप्त रहेको एम्नेस्टी इन्टरनेसनलको अध्ययनले देखाएको छ ।

“बुल्गेरिया, इजिप्ट, कङ्गो र नेपाल जस्ता कारागारमा एकदमै खतरानक तहको भीडभाड रहेका देशहरूले कोभिड–१९ को प्रकोपका गम्भीर सरोकारहरूलाई सम्बोधन गर्न विफल भएका छन् । इरान र टर्की लगायतका अन्य देशहरूमा भने स्वेच्छाचारी रूपमा पक्राउ गरिएका मानवअधिकार रक्षकलगायत सयौँ कैदीहरूलाई कोभिड–१९ सम्बन्धी रिहाइबाट बञ्चित गरिएको छ,“ नेत्सानेट बेलेले भने ।

स्वास्थ्य संकट

कारागारहरूमा वर्षौदेखि हुने गरेको स्वास्थ्य सेवामा न्यून लगानी र वेवास्तालाई कोभिड–१९ ले प्रष्ट रूपमा उजागर गरेको छ । कैदीहरूका निम्ति बढ्दो स्वास्थ्य प्रतिरोधका उपाय र मेडिकल सेवाको आवश्यकता सम्बोधन गर्न कारागारका अधिकारीहरू अनिच्छुक वा अयोग्य रहेका छन् ।

महामारीको प्रारम्भिक चरणमा धेरै देशहरूमा तीब्र अभावका कारण थुनुवाहरूले कोभिड–१९ को परीक्षण गर्न नपाएका तथा इरान र टर्कीका केही थुनुवाहरूलाई भने स्वेच्छाचारी रूपमै उपचार नदिएको पनि एम्नेस्टी इन्टरनेसनलले पायो । क्याम्बोडिया, फ्रान्स, पाकिस्तान, श्रीलंका, टोगो र अमेरिका जस्ता देशहरूले पनि कारागारहरूमा कोभिड–१९ को फैलावट रोक्नका निम्ति पर्याप्त प्रतिरोधात्मक र सुरक्षात्मक उपायहरू अपनाउन सकेका थिएनन् ।

“जोसुकै भएपनि र जहाँ भएपनि सबै मानिसहरू मास्क, पर्याप्त मात्रामा साबुन, स्यानिटाइजर र सफा पानीकोपहुँच प्राप्त गर्नका लागि लायक छन् ,“ नेत्सनेट बेलेले भने ।“कारागारहरूमा खासगरी व्यक्तिगत सुरक्षात्मक उपकरणहरू निःशुल्क प्रदान गर्नुपर्दछ र संभावित प्रकोपलाई रोकथाम र व्यवस्थापन गर्न सरकारले कोभिड–१९ परीक्षण र उपचारको पहुँच बढाउनुपर्ने हुन्छ।“

नियन्त्रणका उपायहरूका कारण भएका दुर्व्यवहारहरू

धेरै देशहरूमा कारागारका अधिकारीहरूले कोभिड–१९ को समस्या संबोधन गर्नको निम्ति अत्यधिक र दुर्यवहारपूर्ण एकान्तवास र क्वारेन्टाइनलगायत जोखिमयुक्त उपायहरू आपनाएका छन् जसले गर्दा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको छ । अर्जेन्टिना र बेलायत जस्ता केही देशहरूमा बन्दीहरूलाई दिनको २३ घण्टासम्म र हप्तौँ वा महिनौंसम्म पनि एकान्तवासमा राखिएको थियो ।

विश्वका कुनै कारागारहरूमा कोभिड–१९ रोकथामका लागि अत्यधिक र दुर्व्यवहारयुक्त एकान्तवास र क्वारेन्टाइनका उपायहरू अपनाइएको थियो । कुनै घटनाहरूमा त यस्ता उपायहरूले क्रूर, अमानवीय र अपमानजनक व्यवहारको रूपसम्म लिएको छ । कैदीहरूलाई सुरक्षित राख्नका निम्ति मानवीय उपायहरू अपनाउनु जरूरी छ,” नेत्सनेट बेलेले भने ।

कारागारहरूमा लागू गरिएका कोभिड–१९ सम्बन्धी बन्दाबन्दीका केही उपायहरूले कैदीहरूको परिवारसँगको भेटघाटमा पनि असर पार्यो जसका कारण उनीहरूको मानसिक र शारीरिक भलाइमा जोखिमता बढायो । केही अवस्थामा यसले गर्दा कारागारभित्र व्यापक विरोध र द्वन्द्वको वातावरण सिर्जना गर्यो जसलाई नियन्त्रण गर्न कारागारका अधिकारीहरूले अत्यधिक बल प्रयोग गरेका थिए । “केही कारागारका अधिकारीहरूले स्थिति अनुकूल भेटघाट पूर्णरूपमा संचालन गरेको भएपनि अन्य कारागकारका अधिकारीहरूले आगन्तुकहरूलाई कारागारमा भेटघाट गर्न प्रतिबन्ध लगाए जसले गर्दा बन्दीहरूको बाहिरी संसारसँगको आफ्नो जीवित सम्बन्ध टुट्न पुग्यो र उनीहरूको शारिरिक र मानसिक भलाइमाथि जोखिमता पैदा भयो,“ नेत्सनेट बेलेले भने ।

थुनामा रहेका व्यक्तिहरूलाई खोप कार्यक्रममा प्राथमिकता

चिकित्सकीय दृष्टिकोणमा जोखिममा रहेका कम्तिमा एउटा समूहका लागि ७१ देशहरूले खोप कार्यक्रमको नीति ल्याएका छन् । यीमध्ये केही देशहरूले कारागारमा रहेका कैदी र कर्मचारीलाई प्राथमिकताको समूहमा समावेश गरेको भएपनि उच्च आय भएका देशलगायतका अरू थुप्रै देशहरू उनीहरूको खोप योजनामा मौन अथवा अस्पष्ट रहेको एम्नेस्टी इन्टरनेसनलको अध्ययनले पाएको छ ।

“कोभिड–१९ प्रकोपको लागि कारागारहरू सबैभन्दा जोखिमपूर्ण ठाउँहरूमध्ये रहेका छन् र कारागारमा रहेका व्यक्तिहरूको स्वास्थ्यको अधिकारलाई अब पनि नजरअन्दाज गर्न मिल्दैन । खोप कार्यक्रमसम्बन्धी योजना, नीति र कैदी–बन्दीहरूको उपचारमा देखिएको स्पष्टताको अभाव एउटा महत्त्वपूर्ण विश्वव्यापी चासोको विषय भएको छ,“ नेत्सनेट बेलेले भने । “खोपसम्बन्धी रणनीतिहरू बन्दै गर्दा थुनामा रहेका व्यक्तिहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्न असफल भएमा यसले कैदी, उनीहरूका परिवार र जनस्वास्थ्य सेवा प्रणालीमा विनाशकारी परिणाम निम्त्याउने छ ।

खोप कार्यक्रमको नीति र योजना बनाउने क्रममा बन्दीहरूमाथि विभेद नगर्न एम्नेस्टी इन्टरनेसनल राज्यहरूलाई आहवान गर्दछ । साथै, बन्दी अवस्थाले गर्दा कैदीहरूलाई भौतिक दूरी कायम गर्न असम्भव हुँने हुँदा राष्ट्रिय खोप कार्यक्रम योजनामा उनीहरूलाई प्राथमिकतामा राख्नका लागि सक्दो प्रयास गर्न तथा खोप कार्यक्रममा कोभिड–१९ संक्रमणको उच्च जोखिममा रहेकाहरू (जस्तै बढी उमेरका कैदी र दीर्घ स्वास्थ्य समस्या भएकाहरू) लाई आम जनसमुदायको अन्य यस्तै समूह बराबरको प्राथमिकतामा राखेको सुनिश्चित गर्न एम्नेस्टी इन्टरनेसनल आग्रह गर्दछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi