आधारभूमि संवाददाता
काठमाडौं, चैत ५
गरिखानेहरुको भान्सा पछिल्लो समय महंगो बन्दै गएको छ । न्युन आम्दानी हुनेहरु बढिजसो यसको मारमा परेका छन् । भान्सामा प्रयोग हुने दाल तथा तेलको भाउ बढेसँगै उनिहरुको भान्सा महंगो भएको हो । यता तलबको बृद्धि हेर्ने हो भने संखे किराको गति अर्थात सुस्त तरिकाले मात्रै बृद्धि भएको छ ।
२०७७ माघमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । माघ महिनामा ज्यालादर सूचकाङ्क २.२७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यता २०७६ माघको तुलनामा २०७७ माघमा फलफूलको मूल्य १८.८४, घ्यू तथा तेलको मूल्य १८.१४ प्रतिशतले बढेको छ । त्यस्तै दाल तथा गेडागुडीको मूल्य प्रतिशत १०.४१ प्रतिशत सूर्तिजन्य वस्तुहरु उपसमुहको मूल्यवृद्धि पनि १०.४१ प्रतिशतले नै बढेको छ ।
माघ महिनासम्ममा मा काठमाडौं उपत्यकामा २.१२ प्रतिशत, तराईमा २.७८ प्रतिशत, पहाडमा ३.३० प्रतिशत र हिमालमा २.०५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ माघमा यी क्षेत्रहरुमा क्रमशः ७.५८ प्रतिशत, ७.२९ प्रतिशत, ५.४६ प्रतिशत र ५.२८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
त्यस्तै २०७७ माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो ।माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको छ ।
२०७७ माघमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१३ प्रतिशत रहेको थियो ।माघ महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.४१ प्रतिशत, ५.३३ प्रतिशत र ३.३९ प्रतिशत रहेको छ । त्यस्तै माघ महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.२५ प्रतिशत रहेको छ ।