neapl investment mega bank
  • गृहपृष्ठ
  • बिदेश जाने ७५ प्रतिशतले घट्दा रेमिट्यान्समा १० प्रतिशतको बृद्धि

बिदेश जाने ७५ प्रतिशतले घट्दा रेमिट्यान्समा १० प्रतिशतको बृद्धि

Mar 17th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ३

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।तर देशमा आउने विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।त्यस्तै माघसम्ममा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ६ खर्ब २९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।

माघसम्ममा चालु खाता रु.१०१ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १०६ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ ।

माघसम्ममा पुँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ७ अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई ९ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी .१४ अर्ब ३८ करोड रहेको थियो ।

माघसम्ममा शोधनान्तर स्थिति रु.९७ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।

त्यस्तै २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०७७ माघ मसान्तमा १४ खर्ब ६२ अर्ब ३ करोड पुगेको छ ।अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ माघ मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.१ महिनाको वस्तु आयात र ११.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।माघसम्ममा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७.१ प्रतिशत, ९८.९ प्रतिशत र ३१.३ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.५ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।