neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

वामपन्थी चिन्तक श्रेष्ठको निधन

Mar 16th, 2021

काठमाडौँ, ३ चैत /रासस

नेपालको वामपन्थी आन्दोलनका चिन्तक, बौद्धिक व्यक्तित्व एवं नेपाल भाषामा जानकार प्रा माणिकलाल श्रेष्ठको आज निधन भएको छ ।

लामो समयदेखि मिर्गौला र मुटुरोगबाट पीडित श्रेष्ठको आज ८९ वर्षको उमेरमा उपचारको क्रममा नै शहीद गङ्गालाल हृदयरोग केन्द्रमा निधन भएको हो । वामपन्थी आन्दोलनबारे मिहिनरुपमा अध्ययन गर्नुभएका श्रेष्ठ माक्र्सवादको राम्रो जानकार हुनुहुन्थ्यो । आफ्नो विषयका अलावा तीक्ष्ण स्मरणशक्तिका धनी श्रेष्ठ नेपाललगायत विश्व इतिहासको तिथिमितिसमेत यकिनका साथ बताउन सक्ने क्षमता राख्नुहुन्थ्यो ।

विसं २०१४ मा साविकको काठमाडौँ नगरपालिका–९ (हाल वडा नं १७) ठहिटीका वडाध्यक्षमा निर्वाचित हुनुभएका श्रेष्ठले मातृभाषाको संरक्षण र सम्वद्र्धनमा विशेष भूमिका खेल्नुभएको थियो । उहाँकै पहलमा काठमाडौँ महानगरभित्रका स्थानीय तहमा मातृभाषा शिक्षा लागू गराउनुभएको थियो । वामपन्थी आन्दोलनका लागेका कारण पटकपटक जेल जीवन एवं हिरासतमा समेत पर्नुभएका श्रेष्ठ निर्भिक बौद्धिक व्यक्तिको रुपमा चिनिनुहुने उहाँका सहकर्मी बताउँछन् ।

त्रिचन्द्र क्याम्पसमा प्राध्यापनरत छँदा कम्युनिष्ट भएकै कारण गिरफ्तारीमा परेर थुनिएसँगै उहाँलाई सेवाबाट बर्खास्त गरिएको थियो । त्रिभुवन विश्वविद्यालयमा नेपालभाषा केन्द्रीय विभागमा पाश्चात्य समालोचना विषयमा प्राध्यापन गर्नुभएका श्रेष्ठ विज्ञान, कानून, इतिहास तथा मातृभाषाको अभियन्ताका रुपमा चिनिनुहुन्थ्यो ।

सयौँ विचरोत्तेजक लेख तथा आलेखका लेखक श्रेष्ठको ‘पाश्चात्य समालोचना सिद्धान्त’ नामक पुस्तक प्रकाशित छ । माणिकलालको पत्नी सुशाीला सिंह ‘शिलु’ सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीशसमेत हुनुहुन्थ्यो । उहाँको गत जेठ ९ गते निधन भएको थियो । उहाँका दुई छोरा हुनुहुन्छ । नेपाल सम्वत्को प्रचारप्रसार एवं त्यसलाई व्यावहारिक रुप दिन लामो समय सङ्घर्ष गर्नुभएका श्रेष्ठ वामपन्थी आन्दोलनका मात्रै नभई नेपाल भाषाका अभियन्ताका रुपमा परिचित हुनुहुन्छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi