neapl investment mega bank
  • गृहपृष्ठ
  • एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समिति बैठक

एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समिति बैठक

Mar 16th, 2021

काठमाडौँ, ३ चैत /रासस

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले कम्युनिष्ट आन्दोलन विभाजित भएर छिन्नभिन्न हुन गइरहेको अवस्थामा एकता अभियानलाई थप सशक्त र प्रभावकारीरुपमा अगाडि बढाइने बताउनुुभएको छ ।

अभियानको कार्यसम्पादन समितिको दोस्रो बैठकको आज शुुभारम्भ गर्दै संयोजक गौतमले भर्खरै पुनःस्थापित नेकपा (एमाले) मा खुशी साथ एकताबद्ध हुने अवस्था नरहेकाले एकता अभियान अरू बढी सक्रिय हुनुपर्नेमा जोड

दिनुुभयो । सर्वोच्च अदालतको निर्णयका आधारमा अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विसं २०७५ जेठ ३ गते पूर्वको अवस्थामा पुनःस्थापित भएका छन् । प्रतिनिधिसभाको विघटनपछि विभाजन उन्मुख भएका दुवै समूहमा नलागी पार्टीमा पुनः एकता गराउने उद्देश्य राखेर एकता राष्ट्रिय अभियान निर्माण गरिएको उहाँको भनाइ थियो ।

संयोजक गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन गर्नुभएको तथा तथा तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाई हटाउन अविश्वास प्रस्ताव ल्याउन हतार गरेका कारण पार्टी एकतामा समस्या उत्पन्न भई मुुलुकमा अस्थिरता शुरु भएकोमा चिन्ता व्यक्त गर्नुुभयो । उहाँले भन्नुुभयो, “पार्टीका अध्यक्ष रहेका प्रधानमन्त्रीका विरुद्ध पार्टी विधानलाई बेवास्ता गर्दै अविश्वास प्रस्ताव राख्ने काम पनि गलत र हानिकारक थियो । अब त्यसलाई मित्रतापूर्णरुपमा आपसी समझदारी विकास गरेर पार्टीभित्र छलफल गरी समाधान गर्नुपर्छ । सकारात्मक प्रयत्न गर्ने हो भने समाधान गर्न सकिने अवस्था पनि विकसित हुनसक्छ । यस सम्बन्धमा अविश्वास प्रस्ताव प्रस्तुत गर्न सहमत पक्षलाई पार्टीसमक्ष आत्मालोचना गर्न एकता राष्ट्रिय अभियान अनुरोध गर्दछ ।” सो बैठकमा अभियानका गतिविधि, पार्टी एकता, वामपन्थी सरकार पुनर्निर्माण लगायतका विषयबारे छलफल गरिने जनाइएको छ ।