आधारभूमि संवाददाता
काठमाडौं, फागुन २७
बैंकहरुमा अहिले उच्च मात्रामा कर्जाको माग भएको छ। अधिक तरलताको स्थितीबाट बिस्तारै अब बैंकहरुले पार पाउन थालेका छन् । अहिले त बैंकहरुले एक आपसबाट सापटी लिन समेत थालेका छन् ।मंगलबार मात्रै बैंकहरुबिच २५ अर्ब बराबरको अन्तर बैंक कारोबार भएको छ । जबकी लकडाउनको समयमा यो नगन्य मात्रामा मात्रै भएको थियो ।
यसरी बैंकहरुबिच अन्तर बैंक कारोबार बढेसँगै एक हप्ता अघि यस्तो ब्याजदर शुन्य दशमलव ५ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर मंगलबार २ दशमलव नौ आठ प्रतिशत कायम भएको छ ।कर्जा लगानीका लागि बैंकहरुले अर्काे बैंकबाट सापटि लिने क्रम बढेसँगै अहिले अन्तर बैंक ब्याजदर ह्वात्तै बढेको छ । यसरी अन्तर बैंक ब्याजदर बढेसँगै आगामी दिनमा कर्जाको ब्याज समेत बढ्ने संकेत देखिएको छ ।
कोरोना बिरुद्धको खोेप लगाउन सुरुभएसँगै बैंक तथा वित्त संस्थामा कर्जाको माग उच्च भएको छ । बढ्दो कर्जाको माग धान्न बैंकले अर्काे बैंकबाट सापटि लिने क्रम पनि बढेको छ ।
अन्तर बैंक ब्याजदर बढ्नुले आगामी दिनमा बैंकहरुले निक्षेप तथा कर्जाको ब्याज बढाउने पनि संकेत गर्छ । लगानीयोग्य रकम जुटाउनका लागि बैंकले धेरै ब्याज तिरेर निक्षेप तान्ने र पछि बैंकहरुले निक्षेपमा दिएको ब्याज खर्च जुटाउन कर्जाको ब्याज बढाउँछन् । जसले आम लगानीकर्तालाई असर त गर्छ नै यसले बस्तुको लागत बढाउँदा बस्तुको मूल्य समेत बढ्ने हुन्छ । बिशेषगरि सरकारले बिकास निर्माणका लागि भनेर छुट्टाएको रकम खर्च नगरि बस्दा तरलतामा दवाब देखिन सुरु गरेको हो ।
गत पुष १५ मा त यस्तो अधिक तरलता २ खर्ब बराबरको रहेको थियो । एक हप्ता अघि ६४ अर्ब रहेको अधिक तरलता अहिले ३४ अर्बमा खुम्चीएको छ । अर्थात एक हप्तामै निक्षेपको रुपमा रहेको यस्तो ३० अर्ब बराबरको रकम कर्जामा परिणत भएको छ ।
राष्ट्र बैंकले यो अहिलेसम्म ८५ अर्ब रकम बजारमा पुनर्कर्जाको रुपमा पठाएको छ। यो रकम नपठाएको भए त अहिले नै तरलता अभावको स्थिती सिर्जना हुने थियो । राष्ट्र बैंकले अझै ५७ अर्ब पुनकर्जा दिन बाँकि छ । तर सरकारले खर्च नबढाएका कारण यस्तो स्थिती पनि आएको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले यो वर्ष ३ खर्ब ५२ अर्ब रकम पुँजीगत खर्चका लागि भनेर छुट्टाएकामा अहिलेसम्म ७५ अर्ब अर्थात वर्षको ८ महिना बित्न लाग्दा सम्म जम्मा २१ प्रतिशत मात्रै खर्च भएको छ ।