neapl investment mega bank
  • गृहपृष्ठ
  • महामारीका बिचमा पनि सरकारलाई राजस्वले साथ दियो, ५ खर्ब ५३ अर्ब उठ्यो

महामारीका बिचमा पनि सरकारलाई राजस्वले साथ दियो, ५ खर्ब ५३ अर्ब उठ्यो

Mar 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, फागुन २६

सरकारले महामारीका बिचमा पनि राम्रो राजस्व उठाउन सकेको छ । अहिलेसम्म ५ खर्ब ५३ अर्ब राजस्व उठाएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । जबकी गत वर्षको यहि अवधिमा सरकारले ५ खर्ब ३६ अर्ब उठाएको थियो ।

महामारीका बिचमा पनि सरकारले राजस्व भने गत वर्षभन्दा १७ अर्ब बढि उठाएको छ । उपभोगमा आएको बृद्धिसँगै मूल्यअभिबृद्धि कर र भन्सार बढेको छ। जसका कारण सरकारको राजस्व गत वर्षभन्दा पनि बढि उठेको देखिएको हो ।

खोप लगाउन सुरु भएसँगै आर्थिक गतिबिधी पुरानै अवस्थामा फर्कन सुरु गरेका छन् । त्यसैले ब्यापारीहरुले बिदेशबाट गर्ने आयात पनि बढाएका छन् । बिदेशबाट आयात हुने बस्तुमा लाग्ने भन्सार, मूल्यअभिबृद्धि कर र अन्तः शुल्क भन्सार बिन्दुमा उठाइन्छ । त्यसबाहेक त्यो बस्तुको बिक्री बितरण हुँदा फेरी लाभमा मूल्यअभिबृद्धि कर लगाइन्छ । गत वर्षको फागुन मसान्तसम्म २ खर्ब ३६ अर्ब उठेकामा सोमबार सम्म नै भन्सार विभागले २ खर्ब ७४ अर्ब राजस्व उठाइसकेको छ । जुन गत वर्षभन्दा ३८ अर्बले बढि हो ।

सरकारले यो वर्ष १० खर्ब ११ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । जुन गत वर्षभन्दा ९ प्रतिशतले कम हो । महामारीका कारण आर्थिक क्रियाकलामा संकुचन आएकाले सरकारले यो वर्ष गत वर्ष जस्तो राजस्व नउठ्ने भन्दै राजस्वको लक्ष्य नै कम राखेको थियो । तर, सरकारले महामारीका बिचमा पनि राजस्व भने गत वर्षभन्दा पनि बढि उठाएको छ ।

आन्तरिक उत्पादन तथा बाह्य क्षेत्रबाट आयातित भएका बस्तुमा लाग्ने मूल्यअभिबृद्धि कर पनि गत वर्षकै हाराहारीमा उठेको छ । बिशेषगरि डलरको मूल्यमा भएको बृद्धि र अन्तर्राष्ट्रिय बजारमा बढेको बस्तुहरुको मूल्यका कारण पनि भन्सार बिन्दुमा उठ्ने राजस्व बढेको हो । तर, आन्तरिक उत्पादनका आधारमा नभई बाह्य बस्तुका आधारमा बढेको यस्तो राजस्वले समग्र अर्थतन्त्रलाई लाभ पुराउन नसक्ने अर्थविद्हरु बताउँछन् ।

राजस्व बढि उठेको देखिएपनि यहाँका उद्योगधन्दा तथा कलकारखानाले कमाएबापत तिर्ने आयकर भने गत वर्षको तुलनामा घटेको छ । त्यस्तै अन्त शुल्कमा पनि कमि आएको छ। देशमा उत्पादन हुने मदीरा तथा चुरोटको खपत भएको छैन । किनकी रेष्टुरा , होटल र पार्टि प्यालेस सञ्चालनमा आउन नसकेकाले यसो भएको हो ।