सर्लाही, १८ फागुन /रासस
कुनै बेला जिल्लाकै दुर्गम मानिने लालबन्दी अहिले करोडौँको गोलभेँडा निर्यात गर्ने शहर बनेको छ । पछिल्लो समय मुलुकमै गोलभेँडाको शहरका रुपमा चिनिने लालबन्दीबाट विगत तीन महिनामा रु ११ करोडभन्दा बढीको गोलभेँडा निर्यात भएको छ ।
गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर गोलभेँडाखेती गर्दै आएका छन् । लालबन्दीमका ८० प्रतिशतभन्दा बढी जमीनमा गोलभेँडाखेती गरिँदै आएको छ । गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक गोलभेँडाखेतीतर्फ आकर्षित हुँदै आएका छन् ।
कृषि उपज बजार व्यवस्थापन समिति लालबन्दीबाट मात्र मङ्सिरदेखि माघसम्म अर्थात् तीन महिनामा रु ११ करोड २८ लाख ४४ हजार ५०० को गोलभेँडा निकासी भएको छ । लालबन्दी बजारबाट मात्र तीन महिनाको अवधिमा व्यापारीले किसानसँग ५६ लाख ७१ हजार १०० केजी गोलभेँडा खरीद गरेर निर्यात गरेका छन् ।
माघ महिनामा मात्र लालबन्दी बजारबाट ३८ लाख ७८ हजार ५०० केजी अर्थात् रु छ करोड २० लाख ५६ हजार बराबरको गोलभेँडा किसानसँग खरीद गरेर व्यापारीहरुले निर्यात गरेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष दरेश चौधरीले जानकारी दिनुभयो । माघमा गोलभेँडा प्रतिकेजी रु १२ देखि २० मा किनबेच भएको छ ।
त्यस्तै पुस महिनामा १४ लाख ४४ हजार १०० केजी अर्थात् रु तीन करोड २४ लाख ९२ हजार २५० बराबरको गोलभेँडा लालबन्दीबाट निकासी भएको छ । मङ्सिरमा भने तीन लाख ४८ हजार ५०० केजी अर्थात् रु एक करोड ८२ लाख ९६ हजार २५० बराबरको गोलभेँडा किसानसँग खरीद गरेर व्यापारीहरुले निकासी गरेको समितिले जनाएको छ ।
मङ्सिर महिनामा किसानले गोलभेँडाको प्रतिकेजी न्यूनतम रु ४५ देखि ६० सम्म पाउने गर्दछन् भने पुसमा रु १० देखि अधिकतम ३५ मा किनबेच हुने गर्दछ । फागुन लागेदेखि भने किसानले प्रतिकेजी अधिकतम रु १५ सम्ममात्र पाउने गर्दछन् ।
घाम तात्दै अर्थात् गर्मी अत्यधिक बढ्दै गएपछि गोलभेँडा उत्पादन बढ्ने भएकाले किसानले फागुन लागेसँगै मूल्य भने अत्यन्त कम पाउने गरेका छन् । सर्लाहीबाट बाहिर निकासी हुने र जिल्लामै खपत हुने गोलभेँडाको मात्र गत विगत वर्षहरुमा एक याममा रु ३५ करोड हाराहारीमा कारोवार हुने गरेको थियो । गत वर्ष र यस वर्ष भने केही घटी हुने बताइएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको उत्तरी क्षेत्रस्थित ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर र वाग्मती नगरपालिका क्षेत्रका दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा गोलभेँडा खेती हुने गर्दछ ।
यसैगरी विगत तीन महिनामा सर्लाहीमा रु १५ करोडभन्दा बढीको गोलभेँडा उत्पादन भएको छ । जिल्लाकै नवलपुर, सासापुर, हरिवनलगायत बजारबाट मुलुकका विभिन्न शहरमा निकासी हुने भएको तथा जिल्लाभित्रै आन्तरिक खपतको परिमाण अनुमान गर्ने हो भने यो तीन महिनामा रु १५ करोडभन्दा बढीको गोलभेँडा सर्लाहीमा उत्पादन भएको जानकारहरु बताउँछन् ।
नेपाली किसानले नदिएपछि भारतीय उखु आयात
दक्षिणी क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडैताले भारतबाट उखु मगाएर क्रसिङ गरिरहेको छ । नेपाली किसानले उखु नदिएपछि उद्योगले आफ्ना दलालहरुमार्फत तुरुन्त पैसा तिरेर अवैध किसिमले भारतबाट उखु ल्याएर क्रसिङ गरेको हो ।
नेपाली किसानको उखुको भुक्तानी गर्न कुनै चासो नदेखाएको उद्योगले छिमेकी देश भारतबाट उखु मगाएर क्रसिङ गरिरहेको भन्दै किसानले गुनासो गरेका छन् । नेपाली किसानको भुक्तानी नदिने तर भारतबाट आयात गर्ने त्यस्ता उद्योग र उद्योगीहरुलाई कारवाही गरिनुपर्ने आवाज किसानले उठाउन थालेका छन् ।
उद्योगका प्रशासकीय प्रबन्धक वीरेन्द्रकुमार श्रीवास्तवले उखु किसानको भुक्तानी नियमित बनाउने बताउनुभयो । उहाँले नेपाली उखु कम भएपछि भारतबाट ल्याएर उद्योग सञ्चालन गरेको बताउनुभयो । पछिल्लो समय केही उद्योगहरुले किसानको भुक्तानी समयमै नगरेका कारण जिल्लाका किसानको उखु खेतीप्रतिको आकर्षण घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।
भारतीय उखु नेपालीभन्दा सस्तो मूल्यमा पाइने भएकाले उद्योगले स्थानीय किसानले उत्पादन गरेको उखुप्रति बेवास्ता गरेको गोडैताका एक उखु किसानको भनाइ छ । उद्योगले जतासुकैबाट उखु ल्याए पनि पहिलो प्राथमिकता स्थानीय किसानलाई दिनुपर्ने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । पहिला स्थानीय स्रोतसाधनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
सुन्तलामा असिनापानी र रोगको असर
भरतपुर : चितवनमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । असिनापानी र रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । यस वर्षप्रति हेक्टर ९ दशमलब १३ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । यो गत वर्षको भन्दा कम हो । गत वर्ष प्रतिहेक्टर ९ दशमलब ५८ टन सुन्तला उत्पादन भएको थियो ।
कृषि ज्ञान केन्द्र चितवनकी सूचना अधिकारी सुरुची त्रिपाठीले सुन्तलामा रोग लागेका कारण यस वर्ष उत्पादनमा केही कमी देखिएको बताउनुभयो । चितवनमा १९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । यस वर्ष उत्पादन भएको क्षेत्रफल भने ११० हेक्टर रहेको त्रिपाठीले जानकारी दिनुभयो । ११० हेक्टर क्षेत्रफलमा यस वर्ष प्रतिहेक्टर ९.१३ टन अर्थात् एक हजार चार दशमलव तीन टन सुन्तला उत्पादन भएको छ ।
गत वर्ष पनि ११० क्षेत्रफलमै सुन्तला उत्पादन भएको थियो । सो क्षेत्रफलमा गत वर्ष प्रतिहेक्टर ९.५८ टन अर्थात् एक हजार ५४ दशमलव नौ टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष कविलासमा गरिएको सुन्तला खेतीलाई असिनापानीले नोक्सान पु¥याउनाका साथै विभिन्न रोग लागेका कारण उत्पादनमा कमी आएको त्रिपाठीले बताउनुभयो ।
त्रिपाठीका अनुसार यस वर्ष किसानले सुन्तालाको बजार मूल्य राम्रो पाएका छन् । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र भरतपुरमहानगरपालिका २९ मा सुन्तला खेती गरिन्छ । इच्छाकामना–३ र ५ मा अत्यधिक सुन्तला उत्पादन हुन्छ । इच्छाकामनाका तामिन, दारेचोक, दाहाखानी, काउले, चण्डिभन्ज्याङ र भरतपुर–२९ कविलासमा धेरै सुन्तला खेती गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनले इच्छाकामनाका विभिन्न स्थानमा सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ ।
दूधमा अनुदानः उत्पादन बढाउँदै किसान
वालिङ : नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिएपछि किसानले उत्पादन बढाउँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्रका विभिन्न दुग्ध सङ्कलन केन्द्रमा नेपाल सरकारको दुग्ध विकास संस्थानले तोकेको मूल्यमा दूध उपलब्ध गराउने किसानलाई प्रतिलिटर रु १५ उपलब्ध गराउँदै आएको गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले बताउनुभयो ।
गल्याङ नगरपालिकालाई ‘सेतो शहर’ का रुपमा विकास गर्ने उद्देश्यले किसानलाई प्रोत्साहनबापत प्रतिलिटर रु १५ अनुदानस्वरुप उपलब्ध गराइएको प्रमुख अधिकारीले बताउनुभयो । “गल्याङलाई सेतो शहरका रुपमा पहिचान दिने अभियानसहित अगाडि बढेका छौँ”, प्रमुख अधिकारीले भन्नुभयो, “पशुपालक किसानहरु उत्पादन वृद्धि गर्नतर्फ लाग्नुहोस्, उत्पादित दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणको जिम्मा नगरपालिकाले लिन्छ, ढुक्क हुनुहोस् ।”
नगरपालिकाले किसानलाई उत्पादनका आधारमा अनुदान रकम उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ । गल्याङ नगरपालिकाले थालेको अभियानमा यहाँका पशुपालक किसान उत्साहित भएर लाग्नुभएको छ जसका कारण अभियान सफल र प्रभावकारी बन्दै गएको पशु शाखाप्रमुख सुशील अर्यालले बताउनुभयो । किसानले अनुदान प्राप्त गर्ने र बजारीकरणको समस्या नभएपछि उत्पादन वृद्धि गर्नतर्फ लागेको उहाँले बताउनुभयो ।
गल्याङ नगरपालिकाका विभिन्न १८ वटा दुग्ध सङ्कलन केन्द्रमा आबद्ध रहेका किसानलाई नगरपालिकाले प्रतिलिटर रु १५ का दरले अनुदान रकम उपलब्ध गराउँदै आएको शाखाप्रमुख अर्यालले बताउनुभयो । “किसानले उत्पादन गरेको दूधको खपतका लागि नगरपालिकाले योजना बनाएको छ”, उहाँले भन्नुभयो, “दूधबाट विभिन्न खालका परिकार बनाउने र बजारमा बिक्री वितरण गर्नेछौँ ।”
नगरपालिकाले गत शनिबार मात्रै वडा नं २ बटुवास्थित जनकल्याण दुग्ध सङ्कलन केन्द्रका ५१ किसानलाई अनुदानस्वरुप रु छ लाख छ हजार ३६९ वितरण गरेको थियो । नगरभित्रका १८ दुग्ध सङ्कलन केन्द्रमध्ये पछिल्लो चौमासिकमा अनुदानस्वरुप उपलब्ध गराइएको यो रकम नै सबैभन्दा धेरै भएको शाखाप्रमुख अर्यालको भनाइ छ ।
उक्त सङ्कलन केन्द्रबाट सबैभन्दा धेरै रु ८५ हजार ३२० अनुदानस्वरुप आफूले प्राप्त गरेको रनमाया गुरुङले बताउनुभयो । “एकातिर दूधको उचित मूल्य तथा अनुदान पाइने र अर्कोतर्फ उत्पादित दूधको बजारीकरणको समस्या नभएपछि आकर्षण थप बढ्दै गएको छ”, दुग्ध व्यवसायी गुरुङले भन्नुभयो, “अनुदान रकमले व्यवसायप्रति थप हौसला र उत्प्रेरणा जगाएको छ, किसानहरुमा खुशी छाएको छ ।”
उत्पादित दूधका लागि नगरपालिकाले अनुदानको व्यवस्था मिलाएसँगै किसानलाई आत्मनिर्भरताबाट माथि उठाउँदै व्यवसाय उन्मुख बनाउनका लागि टेवा पुग्ने विश्वास दुग्ध व्यवसायी गुरुङको छ ।