neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर

Feb 26th, 2021

काठमाडौ, फागुुन १४

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उहाँको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ ।

अस्पतालले आज दिउँसो ३ बजे एक पत्रकार सम्मेलन गरी नेता जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएको छ । न्यूरो सर्जन डा. राजीव झाले परिवारलाई उद्धृत गर्दै जनाएअनुसार हिजो राति साढे १२ बजे देब्रे हात बाउडिएसँगै कमजोर महसुस गरेका जोशीलाई परिवारजनले राति नै वीर अस्पताल लगेका थिए । अस्पताल आउँदासम्म बोलिरहेका नेता जोशी वीर अस्पताल पुग्दासम्म बहोस् भइसक्नुभएको थियो । बेहोस भएपछि वीरमै सीटी स्क्यान गरिएको थियो र सो क्रममा टाउकोमा नराम्रोसँग रगत जमेको देखिएको थियो । अवस्था निकै गम्भीर देखिएपछि वीरकै डाक्टरहरुको सल्लाहमा नर्भिक अस्पतालमा ल्याइएको डा. झाले बताउनुभयो ।

बिहान साढे ३ बजे आफूले सो विषयमा खबर पाएको र आफू आइपुग्दा नेता जोशीको अवस्था निकै गम्भीर रहेको र उहाँ कोमामा पुगेको न्यूरो सर्जन डा. झाले बताउनुभयो । सो क्रममा नेता जोशीलाई पटक–पटक बान्ता भएको र बान्ता फोक्सोमा पुगेको देखिएको थियो । फोक्सोमा बान्ता पुग्दा श्वास फेर्न गाह्रो भएको र इमेरजेन्सी इन्कुभेसन(पाइप राखेर श्वास फेराउने काम) गरिएको डा. झाले जानकारी दिनुभयो ।

नर्भिकमा ल्याइसकेपछि जोशीको आँखाको नानी एकातिर फुलेको देखिएको समेत डा. झाले बताउनुभयो, उहाँका अनुसार यो राम्रो संकेत होइन । ‘एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको भनेर बुझ्दा हुन्छ ।’ डा. झाले भन्नुभयो–‘नर्भिकमा ल्याएर हामीले पुनः सीटी स्क्यान गर्दा टाउकोको बीच भागमा पानी जम्दै गरेको समेत देखियो । उहाँमा सुगर, प्रेसरको समस्या पनि रहेछ । उहाँले रगत पातलो हुने औषधि पनि खाइरहनुभएको रहेछ । यस्तो व्यक्तिलाई सर्जरी गरिए रक्तश्राव नियन्त्रण हुँदैन । त्यसकारण विशेष रगतहरु व्यवस्था गरेर हामीले सानो ड्रिल गरी ड्रेन राखिदिएका छौं, त्यसबाट १३० एमएल पानी निकालिसकेका छौं ।’

नेता जोशी हाल भेन्टिलेटरमा रहनुभएको छ । उहाँको अवस्थालाई चिकित्सकहरुले एकदमै गम्भीर र जटिल भनेका छन् । ‘विश्वमा हेर्ने हो भने यस्तो स्टेजमा पुगेका १०० बिरामीमा ७० प्रतिशतसम्मको डेथ नै हुन्छ । बाँचेका ३० प्रतिशतमा पनि ठूलो किसिमको प्यारालाइसिसहरु देखिने संभावना हुन्छ ।’ डा. झाले भन्नुभयो–‘हामीले उहाँको प्रत्येक घण्टाको अवस्था हेरेर उपचारको रणनीति बनाइरहेका छौं ।’ डा. झाले जोशीको अवस्था स्थिर भन्न मिल्ने खालको नरहेको उल्लेख गर्दै भन्नुभयो–‘हामीलाई थोरै भए पनि उहाँ बाँच्नुहुन्छ भन्ने आशा छ । त्यही आशा राखेर हामीले सक्दो प्रयास गरिरहेका छौं ।’
डा. झाका अनुसार जोशीलाई जस्तो मष्तिस्कघातको समस्या नेपालमा निकै सामान्य बन्दै गइरहेको र यस्तो समस्या उच्च रक्तचाप भएर पनि सही औषधि नखाँदा, औषधि नियमित खान नमान्दा आउने गर्छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi