neapl investment mega bank
  • गृहपृष्ठ
  • औसत आर्थिक बृद्धि हुने अर्थ मन्त्रालयको आकलन, चार प्रतिशतकै हाराहारीमा रहने

औसत आर्थिक बृद्धि हुने अर्थ मन्त्रालयको आकलन, चार प्रतिशतकै हाराहारीमा रहने

Feb 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, फागुन १०

अर्थमन्त्रालयले चालु आर्थिक वर्षको आर्थिक बृद्धि औसत हुने बताएको छ । तर कति भनेर ठ्याक्कै अकंकमा भने बताएको छैन । सन् १९९३ देखि यताको आर्थिक बृद्धिको औसत निकाल्ने हो भने चाहि त्यो करिब ४ प्रतिशत हुन आउँछ ।

सरकारले चालु आर्थिक वर्षको बजेटको आकार मध्यावधि समिक्षा मार्फत घटाएपनि आर्थिक बृद्धिको लक्ष्य भने संसोधन गरेको छैन यता नेपाल राष्ट्र बैंकले हालैमात्रै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै ट्रेन्ड आर्थिक बृद्धि हुने बताएको छ ।

तर दुबै निकायले यो वर्षको आर्थिक बृद्धि ठ्याक्कै कति हुने भनेर भने बोलेका छैनन् । र अहिलेसम्म सरकारले यो आर्थिक वर्षको बृद्धि पनि संसोधन गरेको छैन ।

यता कुल गार्हस्थ उत्पादनको बृद्धिदरको लेखाजोखा राख्ने तथ्यांक विभागले भने अहिलेसम्म पहिलो त्रैमासको सम्म रिपोर्ट निकालेको छैन । गत आर्थिक वर्षको भन्दा संकुचन आउने प्रारम्भिक अध्ययनमा देखिएको बताएपनि स्पष्ट भने तथ्यांक बिभागले खुलाउन चाहदैन । कुल गार्हस्थ उत्पादनमा झन्डै २७ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रमा धानको बृद्धि खासै उत्साहजनक छैन । गत वर्ष ५५ लाख ५० हजार टन धान उत्पादन भएकोमा यो वर्ष ७० हजार मेट्रिक टनले बढेर ५६ लाख २१ हजार मात्रै उत्पादन भएको छ ।

१४ दशमलव सात प्रतिशत योगदान गर्ने थोक तथा खुद्रा ब्यापार पनि महामारीको अघिको भन्दा आधा कम छ । त्यस्तै जिडिपिमा साढे ५ प्रतिशत योगदान दिने उद्योगधन्दा अहिले ५४ प्रतिशत मात्रै पुर्ण क्षमतामा चलेका छन् । जसले गर्दा औसत खालको आर्थिक बृद्धि हुने राष्ट्र बैंकको आकलन छ ।

गत वर्षको पुस सम्ममा २ सय ४७ अर्ब ३६ करोडले कर्जा बिस्तार भएकोमा यो आर्थिक वर्षको सोहि अवधिमा ४८ प्रतिशतले बढेर ३ सय ६६ अर्ब ३६ करोड कर्जा प्रवाह भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट नै संसोधन गरेको छ । १४ खर्ब ७४ अर्बको बजेट संसोधन गरेर १३ खर्ब ४४ अर्ब बनाइएको छ ।

पुँजीगत खर्च र चालु खर्च संसोधन गरेपनि सरकारले यो वर्षको आर्थिक बृद्धिमा भने अहिलेसम्म संसोधन गरेको छैन । महामारीका बिचमा नै आएको बजेटले यो वर्ष ७ प्रतिशतको हाराहारीमा आर्थिक बृद्धि गर्ने लक्ष्य लिएको छ । तर बिश्व बैंकले भने नेपालको यो वर्षको आर्थिक बृद्धि शुन्य दशमलव ६ प्रतिशत मात्रै हुने भनेर आकलन गरेको छ । एसियाली बिकास बैकले १ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धि भनेको छ । तर बिज्ञहरु भने यो वर्ष चार प्रतिशतको हाराहारीमा मात्रै आर्थिक बृद्धि हुने अनुमान गर्छन् ।

सरकारले पुँजीगत खर्च गर्न सकेको छैन , यसलाई समयमै खर्च गर्न सक्ने हो भने पनि आर्थिक बृद्धिमा टेवा पुग्नेछ । त्यसैले यो वर्षको आर्थिक बृद्धि अब हुने आर्थिक क्रियाकलाप र सरकारको खर्चमा भर पर्ने देखिन्छ ।