neapl investment mega bank
  • गृहपृष्ठ
  • द्वन्द्वपीडितको समस्या समाधानगर्न विशेष कार्यदल

द्वन्द्वपीडितको समस्या समाधानगर्न विशेष कार्यदल

Feb 18th, 2021

काठमाडौ, फागुुन ६

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्व पीडितको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताउनुभएको छ । आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरु सँगको छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो । गृहमन्त्री रामबहादुर थापा बादल र सरकारका उच्चपदस्थ अधिकारी सहितको उक्त छलफलमा प्रधानमन्त्रीले भन्नुभयो , ‘अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोग मार्फत द्वन्द्वका घाउहरुलाई क्रमशः पुर्दै लैजानु पछर्’ ।

छलफलमा प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभएपनि आशंका वा रिसिइवीमा मारिएका गरी तीनधारका द्वन्द्व पीडितहरु रहेको उल्लेख गर्नु भयो । ‘जता पट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला,उसका अभिभावक उसमा आश्रित् सन्तानको पीडाहरु उस्तै उस्तै छन्’, उहाँले भन्नुभयो ।

पेन्सन आदि केहीपनि नपाउने द्वन्द्व पीडितको परिवार अरु भन्दाबढी समस्यामा रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो । द्वन्द्वरत कुनै पक्ष मै नभएका राजनीतिक कार्यकता र सर्वसाधारण जनता पनि थुपै संख्यामा पीडित रहेको उहाँले बताउनुभयो । ‘यि सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निश्कर्ष निकाल्नुपर्छ’, प्रधानमन्त्रीले भन्नुभयो ।

जुनसुकै तर्फबाट लडेको भएपनि अब प्रतिशोधको राजनीतिगर्न नहुने पनि प्रधानमन्त्रीले बताउनु भयो । ‘अब क्षमा गर र विर्स’ को भावबाट जानुपर्छ’ , प्रधानमन्त्रीको भनाई थियो। यद्यपी मैना सुनारको जस्तो जघन्य र गम्भिर प्रकृतिका घटनामा भने जोसुकैले पनि सजायँ पाउने पनि प्रधानमन्त्रीले बताउनु भयो । द्वन्द्वमा मृतकका परिवार वा घाइते बाहेक बहिर्गमित लडाकुको समेत अर्को खालको समस्या रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। ‘तीन चार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले सुरुमा देखेको सपना भाँच्चिइसकेको हुन्छ । उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन’, प्रधानमन्त्रीको भनाई थियो ।

कार्यक्रममा द्वन्द्व पीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रिता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्य पालन गर्दा कुल दुई हजार ८ सय ९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै १ हजार जना घाइते भएको बताउनुभयो । ती सुरक्षाकर्मी आश्रित् परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेकोे पनि उहाँले उल्लेख गर्नुभयो । ‘ज्यान जोखिममा राखेर कर्तव्य पालना गर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिएमा अहिले कार्यरत जवान सुरक्षाकर्मी समेतको मनोबल उच्चहुनेछ, उहाँको भनाई थियो । सरकारले मृतक सुरक्षाकर्मीलाई शहिद घोषणा गरे पनि आफूहरुले त्यस बापत केही नपाएको र सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूहरुलाई ‘पीडक’ भन्ने गरेको पनि उहाँले बताउनुभयो ।