आधारभूमि संवाददाता
काठमाडौँ,२ फागुन
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।शनिबार राति भएको खेलमा बार्सिलोनाले अलाभेसलाई ५-१ गोलले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिन्कोले दुई-दुई र जुनियर फिर्पोले एक गोल गरे।अलाभेसको लुइस रिओजाले एक गोल फर्काए ।
खेलको २९ औं मिनेटमा फ्रान्सिस्को ट्रिन्कोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा लियोनल मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ५७ औँ मिनेटमा अलाभेसको लुइस रिओजाले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।
खेलको ७४ औँ मिनेटमा फ्रान्सिस्को ट्रिन्कोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए। लगत्तै ७५ औं मिनेटमा लियोनल मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ ले अघि बढाए।
त्यसपछि खेलको ८० औँ मिनेटमा जुनियर फिर्पोले गोल गर्दै बार्सिलोनालाई ५-१ को फराकिलो जित दिलाए ।
जितसंगै बार्सिलोनाले २२ खेलबाट ४६ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको २१ खेलबाट ५४ अंक छ । पराजित अलाभेसको २२ अंक छ र १६ औँ स्थानमा छ ।