neapl investment mega bank
  • गृहपृष्ठ
  • उद्योगलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न परिसंघको आग्रह

उद्योगलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न परिसंघको आग्रह

Feb 9th, 2021

काठमाडौ, माघ २७

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज मुख्यसचिव शंकरदास वैरागीलाई सिंहदरवारमा भेट गरी औद्योगिक विस्तारबाट रोजगारी सृजना गर्ने सम्बन्धमा छलफल गरेका छन् । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगहरुले नेपालको कुल ग्राहस्थ उत्पादनमा पु¥याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगहरुको क्षमता विकास र प्रतिस्पर्धी बनाई स्वदेशमानै रोजगारी सृजना गर्न नेपाल सरकारले सहज वातावरण तयार गर्नु पर्ने बताउनु भएको छ ।

अध्यक्ष मोरले नेपालको युवाशक्तिहरु विदेशमा गएर रोजगारी गर्नु पर्ने बाध्यतालाई न्यूनीकरण गर्दै विदेशमा रहेका युवाहरुलाई पनि स्वदेशमानै अवसर प्रदान गर्नको लागि दीर्घकालिन लक्ष्यहरु तय गरी सरकार र निजी क्षेत्र एकैसाथ अगाडी बढ्नु पर्ने धारणा राख्नु भएको थियो ।परिसंघको अनुसन्धान इकाईले अध्ययन गरी तयार गरेको नेपालमा उद्योग दर्ताको स्थिति र त्यसबाट भएको रोजगारी सृजनाका सम्बन्धमा छलफल भएको थियो । छलफलमा नेपालको अर्थतन्त्रलाई माथि उठाउनको लागि आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भर तर्फ उन्मुख गराउन सरकार र निजी क्षेत्रको सहकार्यलाई जोड दिइएको थियो ।

मुख्यसचिव वैरागीले नेपालमा कृषि क्षेत्रलाई प्रधानमन्त्रीबाट उच्च प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै कृषि क्षेत्रमा निजी क्षेत्रले रोजगारी सृजना गर्न सक्ने धारणा राख्नु भयो । हाल सरकारले कृषि क्षेत्रमा पनि वैदेशिक लगानीलाई खुला गरेकोले यसतर्फ निजी क्षेत्रको ध्यान जानु पर्ने विचार व्यक्त गर्नु भयो । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तोयानारायण ज्ञवाली र परिसंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल र उपाध्यक्ष अनुज अगरवालको उपस्थिति थियो ।