neapl investment mega bank

बङ्गलादेशबाट रासायनिक मल खरीद शुरु

Feb 9th, 2021

काठमाडौँ, २७ माघ /रासस

बङ्गलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया शुरुआत भएको छ । सरकार र बङ्गलादेश सरकार ९सरकार–सरकारबीच जिटुजी० सम्झौताअनुसार मल खरीदको प्रक्रिया शुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

यसअघिको सम्झौताअनुसार नेपालमा मल ढुवानी गर्ने कम्पनीले बङ्गलादेशमा मल बुज्न थालेको कृषि कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो । “हामीले ढुवानीका लागि छनोट गरेको कम्पनीले आजबाट मल बुज्न थालेको जानकारी आएको छ, उताको सबै तयारी सकेर अब छिट्टै नेपालमा मल ढुवानी हुनेछ”, उहाँले भन्नुभयो, “बङ्गलादेशको कम्पनीले दैनिक उत्पादन गरेको मल हामीलाई दिने भनेको छ, दैनिक जति मल उत्पादन हुन्छ । हामीले छनोट गरेको कम्पनीले सोही अनुसार विभिन्न लटमा ढुवानी गर्छ ।”

ढुवानी कम्पनीले पहिलो लटमा २० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको जनाउँदै भारतीय भन्सार प्रक्रिया मिलाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । पहिलो लटमा रेलमार्ग हुँदै आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ ।

कृषि सागम्री कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

नेपालले बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता गरेको थियो । बङ्गलादेशबाट रासायनिक मल खरीदको तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । सम्झौता भएको करीब दुई महिनापछि बल्ल मल ढुवानीको प्रक्रिया शुरु भएको हो । कम्पनीले पहिलो लटको मल बिहीबारसम्म नेपालमा ढुवानी हुने अनुमान गरेको छ ।