आधारभूमि संवाददाता
काठमाडौं, माघ २७
बैदेशिक रोजगारीमा गएकाहरुले स्वदेशमा पठाउने रकममा बृद्धि तर आयातमा आएको संकुचनका कारण सोधनान्तर स्थितीमा भने सुधार आएको छ ।
नेपाल राष्ट्र बैंकले तयार पारेको ६ महिनाको देशको बित्तीय स्थिती सम्वन्धि रिपोर्टमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति गत छ महिनामा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।
२०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले वृद्धि भई २०७७ पुस मसान्तमा १४ खर्ब ९३ अर्ब ७५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ पुस मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ पुस मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १३ खर्ब १८ अर्ब ६६ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७७/७८ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.९ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
गत छ महिनामा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.७ प्रतिशत, १०५.२ प्रतिशत र ३२.२ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।
बैदेशिक रोजगारीको खोजिमा बिदेश जानेको संख्या गत वर्षको पुससम्मको तुलनामा यो वर्षको सोहि अवधिमा ७७ दशमलव छ प्रतिशतले कमि आएको छ । तर यता बिदेशबाट आउने रकम भने गत वर्षको तुलनामा ११ दशलमव एक प्रतिशतले बढेको देखिएको छ ।
त्यस्तै यो छ महिनामा बिदेश गएका कामदारहरुले पठाउने रकम ११.१ प्रतिशतले वृद्धि भई ४ खर्ब ९५ अर्ब ३१ करोड पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.९ प्रतिशतले मात्रै बढेको थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ । जबकी यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ ।