neapl investment mega bank
  • गृहपृष्ठ
  • मुख्यमन्त्रीद्वारा नीति तथा योजना आयोगको पुस्तक लोकार्पण

मुख्यमन्त्रीद्वारा नीति तथा योजना आयोगको पुस्तक लोकार्पण

Feb 2nd, 2021

जनकपुरधाम, २० माघ /रासस

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नीति तथा योजना आयोगद्वारा प्रकाशित पहिलो आवधिक योजना २०७७ र प्रादेशिक योजना तर्जुमाको निर्देशक आधार विषयक पुस्तकको आज यहाँ लोकार्पण गर्नुभएको छ । पुस्तकमा प्रदेशको व्यवस्थित विकासका लागि आवधिक योजना निर्माणको आवश्यकतालाई मध्यनजर गर्दै प्रदेशभित्र उपलब्ध स्रोत, साधन, सम्भाव्यता, चुनौती तथा अवसरलाई विश्लेषण गरी आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्मको योजना तथा रणनीतिका आधार उल्लेख गरिएको छ ।

पुस्तकमा योजनाको औचित्य तथा तर्जुमाका निर्देशक आधार, विद्यमान आर्थिक तथा समाजिक अवस्था, प्रमुख चुनौती, अवसर, सोच र लक्ष्य एवं योजना अवधिभित्रमा गरिने परिणात्मक लक्ष्यलाई समेटिएको छ । पुस्तकमा जनआकांक्षा तथा प्रदेशभित्र विद्यमान कृषि, पर्यटन तथा उद्योगको सुव्यवस्थित व्यवस्थापनका साथै मानव संशाधनका विकासका महत्वपूर्ण सोच, अवसर, नीति, रणनीति तथा कार्यक्रमको खाका सहित निर्देशित गरिएको छ ।

आवधिक योजनाअन्तर्गत गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तरलाई पाँच वर्षभित्र २७.७ प्रतिशतबाट २१ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ भने योजना अवधिभित्र ११ प्रतिशत आर्थिक वृद्धि दर हासिल गर्ने र कूल स्थिर लगानी रु ११ खर्ब ५९ अर्ब ३६ करोड आवश्यक पर्ने अनुमान गरिएको छ । योजनात्मक लगानीमा सार्वजनिक क्षेत्रबाट ३८ प्रतिशत, निजी क्षेत्रबाट ५८ प्रतिशत र सहकारी क्षेत्रबाट चार प्रतिशत लगानीको अनुमान गरिएको छ ।

त्यसैगरी प्रक्षेपित लगानीको प्रतिफलका रूपमा योजनाको अन्तसम्ममा प्रतिव्यक्ति आय १००० युएस डलर पुग्ने अनुमान गरिएको छ । सो अवसरमा मुख्यमन्त्री राउतले आयोगद्वारा तयार गरिएको योजनाले विकास निर्माणका लागि कार्यदिशा निर्धारण गर्नुका साथै दिगो विकास लक्ष्य हासिल गर्न, प्रतिव्यक्ति आय वृद्धि, प्रदेशको आर्थिक वृद्धि, स्रोतको उपयोग, आर्थिक, सामाजिक तथा सांस्कृतिक सामस्य कायम गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले पुस्तकमा प्रादेशिक विकास निर्माणका बहुआयामिक विषयवस्तुअन्तर्गत क्षेत्रगत सोच, लक्ष्य, उद्देश्य, नीति, कार्यनीति, कार्यक्रम, अपेक्षित उपलब्धि तथा नतिजा खाका समेटिएको चर्चा गर्दै आयोग अब योजना बैंक निर्माणतर्फ उन्मुख हुने जानकारी गराउनुभयो ।