neapl investment mega bank
  • गृहपृष्ठ
  • गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुदृढीकरण अभियान जारी

गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुदृढीकरण अभियान जारी

Feb 2nd, 2021

कावासोती, २० माघ /रासस

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले नागरिकलाई सहजरूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुदृढीकरण अभियान जारी रहेको बताउनुभएको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालको आज निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङले स्वास्थ्य क्षेत्र तथा जिल्ला अस्पतालको सृदृढीकरण अभियान जारी रहेको बताउनुभयो ।

गत वर्षदेखि नै यो अभियान शुरु भएको र अहिले पनि जारी रहेको उहाँले बताउनुभयो । सुदृढीकरण अभियानअन्तर्गत नागरिकलाई सहजरूपमा गुणस्तरीय स्वास्थ्य सेवा अस्पतालको भौतिक पूर्वाधार निर्माण, आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन, उपकरणको प्रबन्ध र गुणस्तरीय तथा पर्याप्त औषधि व्यवस्थापनमा प्रदेश सरकार चासो दिएर लागेको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

प्रदेश सरकारले हरेक जिल्ला अस्पतालमा सृदृढीकरण अभियान शुरु गरेपश्चात् सङ्घीय सरकारले समेत रु ३३ करोड उपलब्ध गराएको उल्लेख गर्दै यसको समुचित प्रयोग हुन नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । “हामीले अभियान शुरु गरेपछि, अरु प्रदेशलाई नदिएको हामीलाई थप रकम आयो, हाम्रा निकायले भने खर्च गर्नै सकेनन्”, मुख्यमन्त्री गुरुङले भन्नुभयो ।

जिल्ला अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकारले लगानी गरिरहेको मुख्यमन्त्री गुरुङले बताउनुभयो । आवश्यकताअनुसार रहेका जिल्ला अस्पतालमा श्यया थप गर्ने, उपकरण र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले स्वास्थ्य सुधारका लागि गरेको सहयोगका कामले गति नलिएमा सम्बन्धित कर्मचारी जवाफदेही हुनुपर्ने उहाँले बताउनुभयो । मध्यबिन्दु जिल्ला अस्पताललाई समेत भोलिका दिनमा स्तरोन्नति गर्दै आवश्यकताअनुसार श्यया थप गर्दै लैजानेसमेत उहाँले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलराज गौतमले सोही क्रममा अस्पतालका तर्फबाट माग पत्र पेश गर्नुभएको थियो । उहाँले अस्पतालमा ३१ जनाको दरबन्दी भए पनि हाल छ जनमात्रै भएकाले यसको पदपूर्ति गर्नुपर्ने, शल्यक्रिया कक्ष सञ्चालनका लागि आवश्यक जनशक्ति तथा उपकरणको व्यस्थापन गर्नुपर्ने, ५० श्ययाको रूपमा स्तरोन्नति गर्ने घोषणा भइसकेकाले सोहीअनुसारको दरबन्दी कायम गर्नुपर्ने, जिल्ला अस्पतालको निर्माणाधीन भवनको लागि थप बजेट विनियोजन गर्नुपर्नेलगायत विषय समेटिएको मागपत्र मुख्यमन्त्रीसमक्ष पेश गर्नुभएको थियो ।