neapl investment mega bank
  • गृहपृष्ठ
  • विदेशमा पढ्न गएकाहरुलाई पैसा पठाउन पर्दा सेवा खाता घाटामा, पर्यटक नआउँदा भ्रमण आय

विदेशमा पढ्न गएकाहरुलाई पैसा पठाउन पर्दा सेवा खाता घाटामा, पर्यटक नआउँदा भ्रमण आय

Feb 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौं,माघ २०

महामारीका कारण नेपालबाट बिदेश पढ्न गएकाहरुले काम गुमाएपनि यहाँबाट पैसा पठाउन पर्दा मुलुकको सेवा खाता घाटामा गएको छ । साथै यहि समयमा पर्यटक पनि आउन सकेका छैनन् , जसले भ्रमण आयमा ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ ।

मंसिर मसान्तसम्म सेवा आय २१ अर्ब २९ करोडले घाटामा रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३ अर्ब १ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत मंसिर मसान्तसम्म भ्रमण आय ९३.५ प्रतिशतले कमी आई २ अर्ब ३० करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३५ अर्ब ५६ करोड रहेको नेपाल राष्ट्र बैंक बताउँछ । बिदेशमा नयाँ बिद्यार्थिहरु खासै नगएपनि उता गएकाहरुले यताबाट रकम मगाउँदा शिक्षाका लागि यो वर्षको ६ महिनामा मात्रै ९ अर्ब ७१ करोड बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ भ्रमणका लागि भनेर मुलुकबाट ११ अर्ब ४२ करोड बाहिरिएको छ । यसमध्ये ९अर्ब ७१ करोड भने शिक्षााका लागि बाहिरिएको रकम हो ।भ्रमणका लागि खर्च हुने रकम गत वर्षको तुलनामा भने ६३ दशमलव ५ प्रतिशतले घटेको छ । किनभने अघिल्लो वर्षको सोहि अवधिमा मुलुकको यस्तो खर्च ३१ अर्ब ३१ करोड भएको थियो ।

शिक्षाका लागि बाहिरिने रकममा पनि कमि नआएको भने होइन । किनभने गत वर्षको यहि समयमा शिक्षाका लागि १४ अर्ब ७० करोड बाहिरिएको थियो ।तर यो वर्ष महामारीका कारण नेपालबाट विदेश पढ्न जान सकेका छैनन् । विद्यार्थिहरुले बिदेश जानका लागि अनुमति लिएपनि अहिलेसम्म बाहिरिन भने सकेका छैनन् ।

विदेश पढ्न जानेहरु प्राय ठप्प हुँदा पनि बिदेश जाने रकम भने उस्तै रहनुले बिदेशमा काम गर्नेहरु महामारीका कारण समस्या परेको प्रष्ट पार्छ । विदेशमा पढ्न गएकाहरुले महामारीका कारण रोजगारी गुमाएका छन् ।रोजगारी गुमेको असरका कारण नेपालबाट शिक्षाका लागि रकम बाहिरिएको जानकारहरु बताउँछन् । जानकारहरुका अनुसार महामारीका कारण बिदेशमा कोठा भाडा तथा कलेजको शुल्क तिर्नका लागि अहिले मुलुकबाट रकम बाहिरिएको छ ।

शिक्षा तथा भ्रमणको आय तथा व्ययलाई सेवा खाता भनिन्छ । शिक्षा र भ्रमणका लागि नेपाल आउने रकम बढि भए सेवा खाता बचतमा र बाहिरिने बढि भए घाटामा जान्छ ।