neapl investment mega bank
  • गृहपृष्ठ
  • हिमालय एअरलाइन्स् र यती एअरलाइन्स्बीच व्यवसायिक सहकार्य

हिमालय एअरलाइन्स् र यती एअरलाइन्स्बीच व्यवसायिक सहकार्य

Jan 27th, 2021

काठमाडौ, माघ १४

हिमालय एअरलाइन्स् र यती एअरलाइन्स्ले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि एक आपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् । एप्लिकेशन प्रोगामिङ्ग ईन्टरफेस (एपिआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता दुवै कम्पनीको प्रतिनिधिहरुले आज आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।
हिमालय एअरलाइन्स्ले हाल मध्य पूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन गरिरहेको छ भने यती एअरलाइन्स्ले नेपालभर संजाल बिस्तार गरी विभिन्न आन्तरिक गन्तव्यहरुमा नियमित उडान गर्दै आएको छ ।

सम्झौता अनुसार दुबै एअरलाइन्स्ले आ–आफ्नो टिकटहरु जारी गर्न, नयाँ सेवाहरुलाई समावेश गर्न,े यात्रुहरुलाई टिकट खरीदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवाहरु एकअर्काको वेबसाईटमा सहज किसिमले उपलब्ध गराउने कम्पनीहरुले जनाएका छन् । यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रियाहरु पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्नेछ ।

उक्त कार्यक्रममा बोल्दै हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले दुई एअरलाइन्स्बीचको सहकार्य हिमालय र यती बिच रणनीतिक व्यापारीक साझेदारीको दिशामा पहिलो चरण भएको बताउनुभयो । “व्यवसाय विस्तारका लागि नयाँ मार्गहरु खोज्न, व्यवसायलाई बढाउन हाम्रो यो साझेदारी महत्वपूर्ण हुनेछ,”– उहाँले भन्नुभयो । यस सहकार्यले व्यवसायलाई बढाएर राजश्वमा वृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाई थियो ।

यती एअलाइन्स्का प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एअरलाइन्स्लाई साझेदारको रुपमा पाउँदा आफूहरुलाई खुशी र उत्साहित बनाएको बताउनुभयो । उक्त सहकार्यले व्यवसायिक समुदायलाई सकारात्मक सन्देश दिएको उहाँको भनाई थियो । प्रमुख कार्यकारी अधिकृत रिमालले उक्त समझदारीले दुबै एअरलाइन्स्का यात्रुहरुले थप लाभ प्राप्त गर्नसक्ने बताउनुभयो । “हाम्रो संजाल विस्तारको लागि हिमालय एअरलाइन्स्सँग सहकार्य गर्ने अवसर पाउँदा हामी खुशी छौँ,”– रिमालले भन्नुभयो ।

यती एअरलाइन्स् र हिमालय एअरलाइन्स्ले व्यवसायका लागी नयाँ श्रोतहरु ल्याउन, यात्रुहरुको बिच भरोसा बढाउन र व्यापारिक दक्षता बढाउने कार्य गर्न महत्वपूर्ण क्षमता राख्दछ । साझेदारीले दुवै एअरलाइन्स्को सम्भावित यात्रुहरुको लागि नविन विचारहरु अन्वेषण गर्ने, ग्रहण गर्ने र प्रचार गर्ने उक्त कम्पनीले जनाएको छ । दुवै एअरलाइन्स्का वेबसाईटका माध्यमबाट यात्रुहरुले यती एअरलाइन्स्, तारा एअर र हिमालय एअरलाइन्स्ले उडान भर्ने राष्ट्रिय र अन्तराष्ट्रिय दुवै गन्तव्यहरुमा चाहेअनुसारको उडान सेवा छनौट गरी फाइदा लिन सक्नेछन् ।

हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।

एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एअरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन । अहिले हिमालय एअरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्ग र छोड्ंछिडं्मा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एअरलाइन्स् एक मात्र एअरलाइन्स् हो र हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स् हो ।

हिमालय एअरलाइन्स्ले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन ए३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएको एक ए३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । २०२१ मा एअरलाइन्स्को ल्हासाजस्ता उच्च स्थानमा उडान भर्र्ने तयारी रहेको छ र साथै विभिन्न नयाँ गन्तव्यहरूमा पनि उडान सुरु गर्ने योजना छ ।

व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एअरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । भर्खरै अगस्त २०२० मा हिमालय एअरलाइन्स्ले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ ।

हिमालय एअरलाइन्स् उत्कृष्टता प्राप्त गर्न र उड्डयन क्षेत्रमा उच्च वृद्धि गर्न निरन्तर गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तार गर्न अथक प्रयासमा लागि परेको छ । हिमालय एअरलाइन्स्को परिवार बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट गठन भएको छ र ‘अतिथि देवो भवः’ ग्राहक नै भगवान भन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।