neapl investment mega bank

पारिश्रमिक नपाएको गुनासो

Jan 27th, 2021

रसुवा, १४ माघ /रासस

निजी क्षेत्रका सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीले पारिश्रमिक नपाएको गुनासो पोखेका छन् । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको पाँचौ साधारणसभाको अवसरमा यहाँ आयोजित कार्यक्रममा महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य समक्ष यहाँका पत्रकारले उक्त गुनासो राखेका हुन् ।

अध्यक्ष आचार्यले सबै पत्रकारको हितमा काम गर्ने छाता संस्था नेपाल पत्रकार महासङ्घ भएकोले पारिश्रमिक नदिने निजी सञ्चार गृहको नामावली जिल्ला शाखामार्फत पठाउन आग्रह गर्नुभयो । त्यस्ता निजी सञ्चार गृहमा घेरा हालेरै भए पनि पारिश्रमिक दिलाइ छोड्ने उहाँले बताउनुभयो ।
यस्तै भौगोलिक विकटता रहेको हिमाली जिल्ला रसुवामा काम गर्ने पत्रकारलाई परेको समस्या समाधान गर्न विपद्को समयमा समाचार सङ्कलन गर्न जाँदा चाहिने पूर्व तयारीका सामग्री नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशले रसुवा शाखालाई हस्तान्तरण गरेको छ ।

महासङ्घ रसुवा शाखाका सभापति हेमनाथ खतिवडाका अनुसार हस्तान्तरण भएका सामग्रीमा दुई थान झोला, दुई वटा ल्यापटप, दुई थान टर्चलगायत रहेको छ । ती सबै सामग्री पत्रकार महासङ्घको जिल्ला शाखामा राख्ने र जुन पत्रकार स्थलगत रूपमा विपद् क्षेत्रमा जाँदा निश्चित समयका लागि त्यस्ता पत्रकारलाई मात्र उपलब्ध गराइने नीति रहेको बताइएको छ ।