neapl investment mega bank
  • गृहपृष्ठ
  • उपभोग बढ्यो, पुँजीअभिबृद्धि गर्ने बस्तुको आयात घट्दा बैदेशिक मुद्रा सञ्चिति बढ्यो

उपभोग बढ्यो, पुँजीअभिबृद्धि गर्ने बस्तुको आयात घट्दा बैदेशिक मुद्रा सञ्चिति बढ्यो

Jan 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, माघ १२
महामारीका बिचम पनि उपभोग भने बढेको देखिएको छ । जसका कारण पछिल्लो समय चामलको आयात ह्वात्तै बढेको छ । चामल, मोबाइल तथा तेलको आयात बढेको छ । जबकी यस्ता बस्तुको उत्पादन स्वदेशमै गर्न सकिन्थ्यो ।

स्वदेशमै उत्पादन गर्नुपर्ने बस्तुको आयात बढ्दा र पुँजी अभिबृद्धि गर्ने खालका बस्तुको आयातमा कमि आउँदा ब्यापार घाटामा सुधार आएको देखिएको छ । यो अर्थतन्त्रका लागि पक्कै पनि सुखद होइन । यसले दिर्घकालमा राष्टलाई नै क्षति पुराउछ ।

महामारीका कारण लामो समय सवारी साधन चल्न नसक्दा तेलको खपतमा कमि आयो । जसका कारण पेट्रोलियम पदार्थको आयातमा नै कमि आएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मेसिनरी तथा पार्टपुर्जा,यातायातका साधन लगायतका वस्तुको आयात घटेको छ । अर्थात सरकारले बिकास निर्माणका काम अघि बढाउन सकेको छैन ।

पुँजी अभिबृद्धि गर्ने खालका यस्ता बस्तुको आयात घट्नुलाई आर्थिक दृष्टिकोणले त्यति राम्रो मानिदैन । किनभने विदेशी मुद्रा सञ्चिति बढाउने भन्दा पनि भएको मुद्राबाट पुँजी अभिबृद्धि गर्ने खालका समानहरुको आयात गर्नु उचित हुन्छ । जसले भोलिका दिनमा रोजागारी सिर्जना गर्ने मात्रै होइन, उत्पादन समेत गर्न सुरु गर्छ ।

हवाईजहाजका पार्टपुर्जामा पनि कमि आएको छ । लामो समय उडान हुन नसकेकाले यस्ता बस्तुको आयातमा कमि आएको हो ।

भारत सरकारले पाम तेलको आयातमा प्रतिबन्ध लगाएसँगै कच्चा पाम तेलको आयातमा कमि आएको छ । तर अहिले फेरी ब्यापारीले भटमासको तेल प्रशोधन गरि भारत पठाउन लागेकाले कच्चा सोयाबिन तेलको आयात भने बढेको देखिन्छ ।

बिकास निर्माणमा प्रयोग हुने सामान आयात कम हुँदा यता उपभोगजन्य बस्तुको आयातमा भने बृद्धि भएको छ । जसको आयात बढ्नु अर्थतन्त्रका लागि त्यति सुखद मानिदैन ।

भन्सार विभागको पछिल्लो तथ्यांक हेर्ने हो भने चामलको आयात बढेको छ । नेपालमा धान उत्पादन बढिरहँदा पनि बिदेशबाट नेपालीहरु नेपाल आएकाले चामलको आयात बढाउनु परेको आकलन गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनामा कुल वस्तु आयात ९.६ प्रतिशतले घटेर ५ खर्ब २५ अर्ब ५० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.२ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१ प्रतिशत, २४.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ ।

आयात घट्यो र बैदेशिक मुद्रा बढ्यो भनेर खुसी हुने भन्दा पनि के कस्ता बस्तुको आयात घटेर आयात कम भएको हो र बैदेशिक मुद्रा सञ्चिति बढेको हो भनेर केलाउन जरुरी छ ।

नेपाल राष्ट्र बैंकले हालै मात्रै प्रकाशित गरेको पछिल्लो बित्तिय स्थिती सम्वन्धि प्रतिबेदन हेर्ने हो भने २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तसम्म ५.२ प्रतिशतले वृद्धि भई १४ खर्ब ७४ अर्ब ३४ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ७.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड पुगेको छ ।

त्यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ५.९ प्रतिशतले वृद्धि भई १२ खर्ब ९८ अर्ब ७२ करोड पुगेको छ ।