neapl investment mega bank
  • गृहपृष्ठ
  • ब्यापार घाटामा ५ दशमलव आठ प्रतिशतको कमि, भटमासको तेलले निर्यात बढायो

ब्यापार घाटामा ५ दशमलव आठ प्रतिशतको कमि, भटमासको तेलले निर्यात बढायो

Jan 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, माघ ९

केहि वर्ष अघिसम्म सरकारलाई बढ्दो ब्यापार घाटा टाउको दुखाइको बिषय बनेको थियो । तर अहिले भने यस्तो ब्यापार घाटामा कमि आएको छ ।

भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार आयातमा चार दशमलव आठ तीन प्रतिशतले कमि आएको छ । जसका कारण पनि ब्यापार घाटामा कमि आएको हो ।

गत वर्षको पुष मसान्तसम्म सरकारले ६ खर्ब ८४ अर्बको आयात गरेको थियो । तर, यो वर्षको सोहि अवधिमा भने जम्मा ६ खबर्् ६१ अर्बको आयात भएको छ ।

तर यता निर्यातमा भने ६ दशमलव एक चार प्रतिशतले बृद्धि भएको देखिएको छ । गत वर्षको पुष मसान्तसम्म ५७ अर्बको निर्यात भएकोमा यो वर्षको सोहि अवधिमा ६० अर्बको निर्यात भएको छ । अर्थात निर्यातमा ६ दशमलव एक चार प्रतिशतले कमि आएको छ ।

यसरी आयातमा आएको कमि र निर्यातमा भएको बृद्धिका कारण समग्र ब्यापार घाटामा भने कमि आएको छ । भन्सार विभागका अनुसार गत वर्षको पुष मसान्तमा ६ खर्ब ३७ अर्ब रहेको ब्यापार घाटा यो वर्षको सोहि अवधिमा ६ खर्बमा सिमित रहेको छ ।

तर आयातमा आएको कमिका कारण सरकारले भन्सार राजस्व लक्ष्य अनुसार उठाउन सकेको छैन । पुष मसान्तसम्म भन्सार विभागले २ खर्ब १९ अर्ब भन्सार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर अहिलेसम्म जम्मा १ खर्ब ९८ अर्ब मात्रै संकलन भएको छ ।

महामारीका कारण लामो समय बजार खुल्न सकेन । साथै यहि समयमा कैयनले रोजगारी समेत गुमाए । जसका कारण उपभोगमा कमि आयो । पछिल्लो समय उपभोगमा बृद्धि भएको देखिएपनि समग्रमा भने उपभोग गत वर्षको जति हुन सकेको छैन । त्यसैले नै आयातमा कमि आएको हो ।

निर्यातमा बृद्धि भएको देखिएपनि यो आयातको तुलनामा भने ज्यादै न्युन हो । बिशेषगरि अहिले भटमासको तेलका कारण निर्यात ह्वात्तै बढेको देखिएको हो ।

ब्यापारीहरुले तेस्रो मुलुकबाट कच्चा पदार्थ मगाएर नेपालमा प्रशोधन गरि भारत पठाउने गरेका छन् । जसका कारण महामारीका बिचमा पनि निर्यातमा भने सुधार आएको देखिएको हो ।

आन्तरिक कच्चा पदार्थमा आधारित नभई बिदेशी बस्तुबाट बनेका बस्तुलाई निर्यात गरेर अहिले ब्यापारीले पैसा कमाएका छन् । यो देशका लागि भने दिगो होइन ।

ब्यापार घाटामा कमि आउनमा निर्यातको भूमिका भने ठूलो छैन । महामारीका कारण बिकास निर्माणका सामाग्रीमा आएको कमिका कारण आयातमा कमि आएको हो । उपभोगजन्य सामाग्रीमा कमि आएको छैन । त्यसैले सरकारले आगामी दिनमा निर्यात बढाउनका लागि उत्पादनमा जोड दिनुुपर्ने देखिन्छ ।