neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्न समस्या

चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्न समस्या

Jan 8th, 2021

काठमाडौँ, २४ असार /रासस

यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्रका लागि अनलाइन फाराममा समस्या आउँदा सेवाग्राही हैरान भएका छन् ।

विभागले यातायात कार्यालयअनुसार निश्चित सङ्ख्यामा मात्रै सेवाग्राहीले भर्न पाउने व्यवस्था गर्दा समस्या आइरहेको छ । सर्भरमा पनि समस्या आइरहेको विभागले जनाएको छ । तोकिएको सङ्ख्या सकिएपछि सर्भरले काम नगर्ने र सेवाग्राहीले दुःख पाइरहेको गुनासो आएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार अहिले सर्भर स्तरोन्नति गर्ने गरी छलफल भइरहेको छ । त्यस्तै, सङ्ख्या तोकिदिँदा सेवाग्राही फारम नै भर्न नपाएकाले त्यो हटाउने गरी छलफल भइरहेको उहाँले बताउनुभयो । तत्काल इच्छुक सबै सेवाग्राहीको फारम सङ्कलन गर्ने र पालैसँग परीक्षाका लागि बोलाउने गरी छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “एक दुई दिनमा नै केही निर्णय गर्न सकिन्छ ।”

एकै पटक धेरै सेवाग्राहीले फारम भर्दा सर्भरमा समस्या आउँदा विभागको सेवा दुई दिनका लागि अवरुद्ध भएको थियो । बिहीबारबाट सुचारु गरिए पनि अहिले पनि सेवाग्राहीले सहज रुपमा फाराम भर्न नपाएको गुनासो छ । उहाँले भन्नुभयो, “१० महिना रोकिएको सेवा खुलाउन लाग्दा धेरै सेवाग्राही हुनु स्वभाविक हो, कसरी व्यवस्थापन गर्ने भनी छलफल भइरहेको छ ।”

आफूले पटक पटक प्रयास गर्दा पनि फाराम भर्न नसकेपछि धेरै सेवाग्राहीले विभाग र कार्यालयहरुमा गुनासो गरिरहेका छन् । देशभरका अधिकांश स्थानका सेवाग्राही फाराम भर्न नपाएको गुनासो रहेको उहाँले बताउनुभयो । कोभिड–१९ सङ्क्रमणको जोखिलाई ध्यान दिएर विभागले कार्यालय वा विभागमा नगरेर अनलाइन भर्ने व्यवस्था गरेको हो । उहाँले भन्नुभयो, “सजिलोका लागि यो प्रणाली ल्याइएको हो ।”

चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक माधव अधिकारीले चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्न सहज नभएका कारण सेवाग्राही समस्यामा परेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बल्ल बल्ल दश महिनामा प्रयोगात्मक परीक्षा खुला भयो । लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या र झन्झटिलो भयो । यसलाई सहज बनाउन जरुरी छ । तत्काल यातायात व्यवस्था विभागले ध्यान दिनुपर्छ ।”

नेपालको सबैभन्दा ठूलो र सुबिधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ । एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुबिधा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड –१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्र्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा शुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रयोगात्मक परीक्षार्थीका लागि सामाजीक दूरी, ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi