neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषिको निर्यात भन्दा मोबाइलमा धेरै खर्च, उपभोग बढ्दा बाहिरिदै स्वदेशी रकम

कृषिको निर्यात भन्दा मोबाइलमा धेरै खर्च, उपभोग बढ्दा बाहिरिदै स्वदेशी रकम

Jan 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष २१

महामारी पछि सुरु भएको अनलाइन कक्षाका कारण महंगा खालका मोबाइल आयात ह्वात्तै बढेको छ । यो वर्ष मोबाइल आयातका लागि मात्रै देशबाट १७ अर्ब ६४ करोड रकम बाहिरिएको छ । जुन गत वर्षभन्दा ७ अर्ब २८ करोड बढि हो ।

महामारीसँगै बन्द भएको कक्षा कोठाको पढाई अझै सबै स्थानमा सुचारु हुन सकेको छैन । अनलाइन कक्षाका लागि ल्यापटप तथा मोबाइलको खपत पनि बढेको छ । यसअघि फोनका लागि प्रयोग हुने मोबाइल अहिले अनलाइन कक्षाका लागि प्रयोग हुन थालेका छन् । जसका लागि अलिक महंगो मोबाइलको खरिद गर्नुपर्ने हुन्छ ।

भन्सार विभागको तथ्यांक अनुुसार मंसिर मसान्तसम्म बिदशबाट १७ अर्ब ६४ करोडको २७ लाख ७२ हजार ८ सय ४३ वटा मोबाइल सेट देश भित्राइएको छ। गत वर्ष भने यहि समयमा १० अर्ब ३६ करोडको २५ लाख ४२ हजार ८ सय २२ वटा मोबाइल भित्राइएको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा २ लाख ३० हजार सेट बढि आएपनि रकम भने ७ अर्ब २८ करोड बढि बाहिरिएको छ । यसले पछिल्लो समय महंगा मोबाइलको आयात बढेको पुष्टि हुन्छ ।

व्यवसायीहरु पनि अहिले १५ देखि ३० हजारका मोबाइल बढि बिक्री हुने गरेको बताउँछन् । महामारीमा अन्य व्यवसायी कसरी व्यवसाय बचाउने होला भन्ने सोचमा रहेका बेलामा मोबाइल बिक्रेताहरुले पनि राम्रो आम्दानी गरेका छन् ।

देशबाट मंसिर मसान्तसम्म जम्मा ५० अर्बको निर्यात भएको छ । जसमा २६ अर्ब कृषिजन्य बस्तुको निर्यात भएको हो । र यस्तो कृषिजन्य बस्तुको निर्यातमा अझ १३ अर्ब त बिदेशबाट भटमासको तेल ल्याएर यहाँको सिमा क्षेत्रका तेल मिलले भारत निर्यात गरेको रकम हो । जुन दिगो निर्यात त होइन नै यहाँको उत्पादन समेत होइन ।

कृषिजन्य बस्तुको निर्यातबाट नेपालले पाउने लाभ भने २० देखि २५ प्रतिशत हो, अन्य त लगानी नै हो । कृषिजन्य बस्तुको निर्यात भन्दा बडिढ त मोबाइलको आयात भएको प्रष्ट देखिन्छ । बिदेशबाट कच्चा पदार्थ आयात गरेर प्याकिङ गरेका बस्तु निर्यात गरि देशले खासै लाभ पाउने नभएपनि आन्तरिक उत्पादनबाट भने रोजगारी सिर्जना हुुन्छ ।

महंगा तथा मोबाइल र सवारी साधनको उपभोगले देशबाट बाहिरिने रकम बढाउँछ । आन्तरिक उत्पादन बढाउन नसक्ने हो भने बढ्दै गएको उपभोगले देशको ब्यापारा घाटा आगामी दिनमा बढाउँदै लाने देखिन्छ ।