neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जन्तेढुङ्गाको घोर्लेमा प्रथम सुन्तला महोत्सव

जन्तेढुङ्गाको घोर्लेमा प्रथम सुन्तला महोत्सव

Jan 4th, 2021

खोटाङ, २० पुस /रासस

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजारस्थित घोर्लेमा आयोजना गरिएको प्रथम सुन्तला महोत्सव सम्पन्न भएको छ । घोर्लेका स्थानीय बासिन्दाले उत्पादन गरेको सुन्तलाको प्रवद्र्धन, विज्ञापन र पहिचान गराउने उद्देश्यका साथ गाउँपालिकाकै सहयोगमा सुन्तला महोत्सव आयोजना गरिएको हो ।

‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव विघटित प्रतिनिधिसभा सदस्य एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य विशाल भट्टराईले आइतबार औपचारिक उद्घाटन गर्नुभएको थियो । घोर्लेमा उत्पादित सुन्तलाको प्रचार–प्रसार गर्दै बजार प्रवद्र्धन गर्ने लक्ष्यका साथ शुक्रबार र आइतबार आयोजना गरिएको महोत्सवमा सुन्तलाको दाना, सुन्तलाको जुस, सुन्तलाको वाइनको स्टल राखिएको थियो ।

महोत्सवमा पुराना ऐतिहासिक सांस्कृतिक बाजा, पुराना प्रविधिका हस्तकलाका सामग्री, काठका ऐतिहासिक सामग्री, पितृ कार्य वा विवाहमा प्रयोग गरिने ऐतिहासिक सामग्री, हुक्का चिलिम, चोयाबाट निर्मित कोसेली वा अन्य सामान राख्न प्रयोग गरिने सामग्री, ऐतिहासिक कुपी, खुँगी, चुलेसी, काठबाट निर्मित ऐतिहासिक सामग्री, ऐतिहासिक लोहोटा र सिक्का, जाँतो, तेल पेल्ने कोल, ढिकी, किराँत राईको साकेला थान, किराँत राईको पितृ पूजा गर्ने चुल्हो, मृत्यु संस्कार गरिने कार्य झल्काउने सामग्री, रक्सी बनाउने स्थानीय प्रविधि, कृषिजन्य उत्पादन, गुन्द्री, सुकुल, किराँत राजाले प्रयोग गर्ने हतियार, हस्तकलाका सामग्रीलगायतका स्टलसमेत राखिएको थियो । गाउँपालिकाको मुख्य प्रायोजन, ग्रामीण विकास तथा अनुसन्धान केन्द्र, सिर्जनशील आमा समूह र तीनतले कोलाताङ सामुदायिक वन घोर्लेको सह–प्रयोजनमा स्थानीय प्रगतिशील कृषक समूह र सिलिचोङ सांस्कृतिक परिवार घोर्लेको आयोजनामा सुन्तला महोत्सव गरिएको हो ।

घोर्लेमा उत्पादित सुन्तलालाई देशभर चिनाउँदै कृषिजन्य उत्पादनको प्रवद्र्धन, कृषि पर्यटनको विकास एवं किसानको आयआर्जनमा वृद्धि गर्न गाउँपालिकाकै आर्थिक तथा प्राविधिक सहयोगमा महोत्सवको आयोजना गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताउनुभयो । “घोर्लेमा उत्पादित सुन्तला अहिले तराईमा मात्र निर्यात हुन्छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा काठमाडौँ र विदेशमा समेत निर्यात गरेर किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ सुन्तला महोत्सवको आयोजना गरिएको हो ।”

घोर्लेमा उत्पादित सुन्तलालाई चिनाउँदै कृषिको माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउन महोत्सवको परिकल्पना अघि सारिएको गाउँपालिकाले जनाएको छ । कृषिको प्रवद्र्धनमार्फत विदेश पलायन हुने युवालाई गाउँमै रोक्ने र कृषिको व्यावसायीकरणमा टेवा पुर्याउन सुन्तला महोत्सव फलदायी हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा साकेला शिली, स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा नृत्य प्रतियोगिता लगायतका कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ । प्रथम पटक सुन्तला महोत्सवलाई हरेक वर्ष निरन्तरता दिइने जनाइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त जन्तेढुङ्गा गाउँपालिकाको घोर्ले सुन्तला उत्पादन हुने प्रमुख क्षेत्रमा पर्दछ । घोर्लेमा उत्पादित सुन्तला ‘अर्गानिक’, रसिलो र स्वादिलो भए पनि प्रचारप्रसारमा ओझेलमा परेको स्थानीय शिक्षक जीवन राईले बताउनुभयो ।

घोर्लेका ३४ घरमध्ये सबै घरले व्यावसायिकरूपमा सुन्तला खेती लगाएका छन् । घोर्लेबाट वार्षिक रु एक करोडभन्दा बढीको सुन्तला बाहिरी जिल्ला निर्यात हुने गरेको गाउँपालिकाका रोजगार संयोजक एवं प्रथम सुन्तला महोत्सव आयोजक समितिका संयोजक विज्ञान पुमा राईले जानकारी दिनुभयो ।

घोर्लेमा उत्पादित सुन्तला ठेकेदारले अग्रिम बैना दिएर लैजाने गरेका छन् । दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँका कृषकले व्यावसायिकरूपमा लगाएको सुन्तला खेतीमा रोग लागे पनि घोर्लेमा अहिलेसम्म रोग नलागेको कृषकले बताएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi