हेटौंडा,१४ पुुस
राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बिदेशी एजेण्डा भएको बताएका छन् । बिदेशिको इसारामा माओवादीले शुरुमा त्यो भारी बोकेर आएको र केही समय पछि काङ्ग्रेस (एमाले त्यो भारी बोक्न तयार भएको दाबी गरे ।
मकवानपुरको आफ्नो चुनावी क्षेत्र बकैया गाउँपालिकाको छतिवनमा आज आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले बिदेशीको प्रायोजनमा भएको आन्दोलनले जनताको असली भावना बोक्न नसक्ने बताए । राप्रपा सबै धर्मलाई बराबरिको समानता र स्वतन्त्रताको पक्षमा रहेको र पहिचानको रुपमा हिन्दुराष्ट्र हुनुपर्ने भन्दै थापाले कुनै धर्म र आस्थाप्रती आफ्नो आपत्ती नभएको तर योजनाबद्ध ढंगले धर्म परिबर्तन गराउदै हिड्ने प्रवृत्तिको भने बिरोध गरेको स्पष्ट पारे । धर्म नास हुदा नैतिक मूल्य, मान्यता र चरित्र समाप्त हुने भन्दै भ्रष्टाचार, ब्यभिचार बढेर गएको धर्म प्रतिको अनास्था भएको बताए । कसै सङ्ग डर नभएर यस्तो भएको थापाको टिप्पणी थियो ।
बिदेशीहरु आएर नेताको घर घरमा गरेको दौडले स्वाभिमान र सार्बभौमिकता कमजोर भएको थापाको भनाई थियो । बिदेशी प्रभाव र हस्तक्षेपको थापाले चर्को बिरोध गरे । चुनाव जित्ने संगठन अहिलेको आबश्यकता भएको थापाको भनाई थियो ।कार्यक्रममा बोल्दै राप्रपा कार्यसम्पादन समितिका सदस्य मधु अधिकारीले काङ्ग्रेस कम्युनिस्ट असफल साबित भएकोले अब जनताले राप्रपालाई रोज्नुपर्ने बिचार ब्यक्त गरे । जिल्ला अध्यक्ष रामहरी न्यौपाने ,क्षेत्रीय अध्यक्ष राजाराम अर्याल,गोबर्धन गौतम ,राजन घिमिरे लगायतले बोलेको कार्यक्रममा विभिन्न ब्यक्तिलाई थापाले पार्टी प्रवेश गराएका थिए ।