neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

काउन्सिलका विभिन्न प्रकाशन सार्वजनिक

Dec 29th, 2020

काठमाडौ, पुुस १४

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस काउन्सिल नेपालले प्रकाशन गरेका विभिन्न भाषाका आचारसंहिताले पत्रकार मात्र नभई नागरिकलाई समेत सजग बनाउने बताउनुभएको छ । सोमबार प्रेस काउन्सिल नेपालका प्रकाशनहरु शैली पुस्तिका, आचारसंहिता (मैथिली र नेपालभाषा) तथा नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास पुस्तक सार्वजनिक गर्दै मन्त्री गुरुङले आम नागरिकले मातृभाषामा नै आचारसंहिता अध्ययन गर्न पाउँदा यसको प्रभावकारिता बढ्ने बताउनुभयो । काउन्सिलले नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशन गर्दै आएको आचारसंहिता मैथिली र नेपालभाषामा समेत अनुवाद गरेर प्रकाशन गरेको हो । यस्तै मन्त्री गुरुङले नेपालमा मैथिली पत्रकारिताको इतिहास खोतल्ने कार्य पहिलोपटक भएको भन्दै नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास ऐतिहासिक पुस्तक भएको बताउनुभयो ।

उहाँले यस पुस्तकले पत्रकार मात्रै नभई आमनागरिक र भावि पुस्तालाई समेत इतिहास बुझ्न सहज हुने बताउनुभयो । शैली पुस्तिकाले भाषागत त्रुटि कम गराउने उहाँको विस्वास थियो । मन्त्री गुरुङले आचारसंहिता प्रकाशनसँगै कार्यान्वयनको पनि अनुगमन गर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । काउन्सिलले आफ्नो काम र उद्देश्यअनुरुप प्रकाशित पुस्तकले आचारसंहिताको अनुगमनलाई नै सघाउने मन्त्री गुरुङको भनाइ थियो । मन्त्री गुरुङले पत्रकारितामा स्वतन्त्रताको उपभोगसँगै कर्तव्यको पनि पालना गर्न आग्रह गर्नुभयो ।


प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा ५ र ७ अनुसार आमसञ्चार माध्यमहरूका लागि आचारसंहिता निमार्ण गरी अनुगमन गर्दै आइरहेको स्मरण गराउनुभयो । उहाँले ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारिता मैत्रि प्रेस काउन्सिल नेपाल’ को नाराअनुरुप पत्रकारिता जगतलाई मर्यादित बनाउन र मिडियालाई कालोसूचीमा पर्ने स्थितिबाट जोगाउन काउन्सिल प्रयत्नशील रहेको बताउनुभयो ।

उहाँले पत्रकार आचारसंहिताको प्रचार प्रसार र प्रभावकारी कार्यान्वयनको लागि विभिन्न राष्ट्रिय भाषामा आचारसंहिता प्रकाशन गर्ने क्रममा मैथिली र नेपालभाषामा अनुवाद गरी प्रकाशन गरिएको जानकारी दिनुभयो । कार्यवाहक अध्यक्ष बुढाथोकीले भाषाशैलीमा एकरुपता नहुँदा एउटै संस्थाका विभिन्न प्रकाशनमा पनि फरक फरक भाषाशैलीको प्रयोग हुने र यसले संस्थागत गरिमालाई कमजोर बनाउने हुँदा काउन्सिलले शैलीपुस्तिका प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको बताउनुभयो । उहाँले प्रकाशित शैली पुस्तिकाले काउन्सिल मात्र नभई नेपाल पत्रकार महासङ्घ, सूचना तथा प्रसारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई समेत सघाउने बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत शैलीपुस्तिका प्रकाशन गरी कार्यान्वयनमा ल्याउन सके सकारात्मक सन्देश जाने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले काउन्सिलले भाषामा एकरुपता ल्याउनकै लागि शैली पुस्तिकाको प्रकाशन गरेको चर्चा गर्नुभयो । कार्यक्रममा बोल्दै नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास पुस्तकका लेखक तथा आचारसंहिता मैथिली भाषा अनुवादक वरिष्ठ पत्रकार धर्मेन्द्र झाले मैथिली पत्रकारिताको इतिहास पुस्तक काउन्सिलको ऐतिहासिक प्रकाशन भएको उल्लेख गर्नुभयो । सन्दर्भ र इतिहास खोज्ने क्रममा कतिपय पत्रपत्रिकाको जानकारी नै पाउन मुस्किल भएको स्मरण गर्दै उहाँले नेपालको पत्रकारिता इतिहासमा अब मैथिली भाषा पत्रकारिताको शोधपत्र लेखन सुरुवात हुने बाटो खुलेको बताउनुभयो ।

आचारसंहिता नेपालभाषाका अनुवादक, पत्रकार सुरेश मानन्धरले मातृभाषामा आचारसंहिता आउनु नै सवल पक्ष भन्दै सम्बन्धित भाषीका लागि आचारसंहिताको पालना र कार्यान्वयन अब झनै प्रभावकारी हुने विस्वास व्यक्त गर्नुभयो । भाषाविज्ञ सह–प्राध्यापक डा. धनप्रसाद सुवेदीले नेपाली भाषाको हिजोको परम्परालाई नियमन गर्न समस्या भएकाले प्रेस काउन्सिलको शैली पुस्तिका र विभिन्न भाषामा प्रकाशित आचारसंहिताले भाषा संरक्षणमा टेवा पुग्ने विस्वास व्यक्त गर्नुभयो ।
पुस्तक प्रकाशनबारे जानकारी दिँदै काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले काउन्सिलले अहिले बढी बोलिने मातृभाषा मैथिली र नेपालभाषामा आचारसंहिता प्रकाशन गरेको जानकारी दिनुभयो । आगामी दिनमा अन्य भाषामा समेत पुस्तक प्रकाशन हुने उहाँको भनाइ थियो । शैली पुस्तिका प्रज्ञा प्रतिष्ठानको १० औँ संस्करणलाई आधार मानेर तयार गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दीपक पाण्डे, निर्वतमान सदस्य चेतनाथ धमला, नेपाल प्रेस इन्स्टिच्युटका पूर्व अध्यक्ष तीर्थ कोईराला, सूचना तथा प्रसारण विभागका निमित्त महानिर्देशक ईश्वरराज दाहाल लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले गर्नुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi