आधारभूमि संवाददाता
काठमाडौं, पुष १०
भारतले पाल्म तेलको निर्यातमा प्रतिबन्ध लगाएसँगै ब्यापारीहरुले फेरी भटमासको तेल आयात गरेर त्यसलाई प्याकिङ गरि भारत पठाउन सुरु गरेका छन् । भारतले नेपालबाट जाने कृषिजन्य सामाग्रीमा कुनै भन्सार लगाउँदैन, जसका कारण यसको फाइदा उठाउदै ब्यापारीले भटमासको तेल निर्यात गर्न थालेका हुन् ।
भारतले नेपालबाट जाने कृषिजन्य बस्तुमा शुन्य भन्सारको सुविधा उपलब्ध गराएको छ भने अन्य देशबाट आउने खाने तेलमा ४५ प्रतिशत कर लगाउँछ । यसको फाइदा उठाउँदै सिमा क्षेत्रका ब्यापारीले गत वर्षसम्म तेस्रो मुलुकबाट आयात गरेर भारतमा पाल्म तेल निर्यात गर्थे ।
यसरी पाल्म तेल निर्यात गरिरहेको सुइको पाएपछि गत वर्ष पुषमा भारतले नेपालबाट जाने पाल्म तेल निर्यातमा प्रतिबन्ध लगायो । जुन अहिलेसम्म पनि कायमै छ । यो वर्षको मंसिरसम्ममा जम्मा ४ लाखको पाल्म तेल निर्यात भएको छ । जबकी गत वर्षको मंसिरसम्म ११ अर्बको पाल्म तेल निर्यात भएको थियो ।
पाल्म तेल प्रतिबन्ध पछि ब्यापारीहरु भने चुप बसेका छैनन, उनिहरु फेरी बिदेशबाट भटमासको तेल आयात गरेर भारत पठाउन थालेका छन् ।
गत वर्षको मंसिरसम्म जम्मा ३ अर्बको भटमासको तेल निर्यात भएकोमा यो वर्षको सोहि अवधिमा साढे १३ अर्बको भटमासको तेल निर्यात भएको छ । जबकी बिशेषगरि सुदुरपश्चीम क्षेत्रमा बढि उत्पादन हुने भटमास स्वदेशकै लागि समेत पर्याप्त छैन ।
पाल्म तेलको कच्चा पदार्थ मलेसिया र इन्डोनसियाबाट आयात हुन्थ्यो । अहिले ब्यापारीले कच्चा भटमास तेल भने ब्राजिल र अर्जेन्टिनाबाट आयात गर्ने गरेका छन् ।
साढे १३ अर्बको भटमासको तेल निर्यात हुँदो १४ अर्ब ६७ करोडको कच्चा भटमास तेल आयात भएको छ । अर्थात १ अर्ब १३ करोडको भटमासको तेल त स्वदेशमै खपत भएको छ । पाल्म त नेपालमा फल्दैनथ्यो, तर नेपालमै उत्पादन हुने भटमासमा फेरी भारतले पाल्ममा लगाएको जस्तो प्रतिबन्ध लगायो भने यसको असर सोझो असर नेपालको कृषि क्षेत्रमा पर्नेछ । तर ब्यापारीहरु भने भारतको यस्तो सुविधा कारण निर्यात बढेको र यसले रोजगारी सिर्जना गरेको दाबी गर्छन् ।
अहिले भटमासको गेडा होइन कि कच्चा तेल नै आयात बढेको छ । जसलाई प्याकिङ मात्रै गरि भारतमा निर्यात गर्ने गरेका कारण धेरैलाई रोजगारी होइन कि सिमित ब्यापारीलाई लाभ पुराउने बाहेक अन्य काम गर्न सकेको छैन ।
देशका उद्योगी यहाँ उपलब्ध हुने कच्चा पदार्थ प्रयोग गरेर बस्तुको उत्पादन गर्ने भन्दा पनि विदेशबाट आयात गरि भारतले दिएको सुुविधा उपभोग गरेर नाफा कमाउन मात्रै पल्केका छन् । जसका कारण नै देशमा रोजगारीको अभावमा कैयन युवा खाडीमा भासिनु परेको छ ।