आधारभूमि संवाददाता
काठमाडौं, पुष ९
महामारीका बेलामा पनि बिदेश रकम जाने क्रम रोकिएको छैन । आयातका लागि मात्रै होइन बिदेश पढ्न जाने र घुम्न जानेहरुका कारण करिब ८ अर्ब रकम बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको कात्तिक मसान्तसम्म खुद सेवा आय २ अर्ब ४९ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत कात्तिक मसान्तसम्म भ्रमण आय ९३.१ प्रतिशतले कमी आई १ अर्ब ८८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ अर्ब १४ करोड रहेको थियो ।
सेवा खाता अन्तर्गत कात्तिक मसान्तसम्म भ्रमण व्यय ६८.६ प्रतिशतले कमी आई ८ अर्ब ३ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय ६ अर्ब ८० करोड रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २५ अर्ब ५९ करोड रहेकोमा शिक्षातर्फको व्यय १२ अर्ब ११ करोड रहेको थियो ।
महामारीका कारण बिदेश पढ्न जाने रोकिएको छ । जसका कारण शिक्षाका लागि बाहिरिने रकम पनि यहि नेपालमै बसेको छ।
बिदेशबाट नेपाल पढ्न आउनेहरु छैनन् । तर नेपालबाट भने बिदेश पढ्न जानेको संख्या ठूलो छ । जसका कारण नै नेपालको शिक्षा तर्फको ब्यय वर्षेनि बढ्दै गएको थियो । तर यो वर्षको कात्तिक मसान्तसम्म भने बिदेश पढ्न जानेको संख्यामा कमि आएकाले शिक्षा तर्फको व्ययमा भारि गिरावट आएको छ ।
कात्तिक मसान्तसम्म पुँजीगत ट्रान्सफर ९.३ प्रतिशतले कमी आई ४ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.९ प्रतिशतले कमी आई ३ अर्ब ७५ करोड कायम भएको छ ।
अघिल्लो वर्षको कात्तिक मसान्तसम्म पुँजीगत ट्रान्सफर ४ अर्ब ५७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रहेको थियो ।
त्यस्तै शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति कात्तिक मसान्तसम्म ९३ करोड १७ लाखले बचतमा रहेको छ ।
२०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई २०७७ कात्तिक मसान्तमा १५ खर्ब ६ अर्ब ६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १२ अर्ब ६५ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अब झनै नयाँ भाइरसका कारण पर्यटक आउने संभावना देखिदैन । त्यसैले नेपालबाट सेवाका खाताबापत बाहिरिने रकममा कमि ल्याउनु नै प्रमुख उपाय देखिन्छ ।