आधारभूमि संवाददाता
काठमाडौं,पुष ८
महामारीका कारण आयातमा कमि आएको छ । जसका कारण देशको ब्यापार घाटामा भने ब्यापक सुधार आएको छ । तर , बजारमा बस्तु तथा सेवाको अभावका कारण मूल्यबृद्धिले भने जनताको ढाड सेकको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७७ कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०५ प्रतिशत रहेको छ । जबकी गत ्असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । अर्थात असोजको तुलनामा कात्तिकमा झनै महंगी बढेको छ ।
बिशेषगरि तरकारीको मूल्यमा भएको भारी बृद्धिका कारण महंगी ह्वात्तै बढेको देखिन गएको छ । कात्तिकमा तरकारी उपसमुहको मूल्यवृद्धि २०.८८ प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि १३.७० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत असोजमा तरकारी उपसमुहको मुल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि १३.८६ प्रतिशत रहेको थियो ।
बिशेषगरि तराई क्षेत्रमा सबैभन्दा धेरै महंगी बढेको देखिएको छ । कात्तिक मसान्तसम्म काठमाडौं उपत्यकामा ३.३९ प्रतिशत, तराईमा ४.६९ प्रतिशत, पहाडमा ३.६४ प्रतिशत र हिमालमा ४.३२ प्रतिशत मुद्रास्फीति रहेको छ । गत असोजसम् मभने काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत, तराईमा ४.४६ प्रतिशत, पहाडमा ३.०३ प्रतिशत र हिमालमा ४.३९ प्रतिशत मुद्रास्फीति रहेको छ ।
कात्तिक मसान्तसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४६ प्रतिशत रहेको छ । २०७६ असोजको तुलनामा कात्तिक मसान्तसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ ।
२०७७ कात्तिकमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५७ प्रतिशत रहेको थियो ।
कात्तिक मसान्तसम्म उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.७२ प्रतिशत, ११.४८ प्रतिशत र ३.४५ प्रतिशत रहेको छ । कात्तिक मसान्तसम्म निर्माण सामग्रीको थोक मूल्य ०.१९ प्रतिशतले घटेको छ ।