आधारभूमि संवाददाता
काठमाडौ ,पुस ७
उखु किसानले चिनी मिल सँग रहेको ९० करोड बक्यौता उठाउन सात वर्ष देखि आन्दोलन गर्दा पनि सबै रकम भुक्तानी पाउन सकेका छैनन् । हाल सम्म उखु किसानले ३ वटा मिलबाट ४९ करोड भुक्तानीको आश्वासन पाएका छन् ।
श्रीराम सुगर मिलले पुस ३ गते १६ करोड ४४ लाख ७० हजार रुपैयाँ र ५ गते ८ करोड ८५ लाख ५७ हजार रुपैयाँ गरी २५ करोड ३० लाख २७ हजार रुपैयाँ भुक्तानी दिएको जनाएको छ ।
श्रीरामले जारी गरेको विज्ञप्तिमा बाँकी बक्यौताको हकमा प्रत्येक दिन क्रमशः भुक्तानी गर्दै जाने भनिएको छ तर उखु किसानले भने सो रकम नपाएको वताएका छन् ।
त्यस्तै अन्नपूर्ण सुगर मिलले पनि पुस ५ देखि बक्यौता रकम भुक्तानी गरिरहेको जनाएको छ । ‘पुस ५ देखि बक्यौता रकम भुक्तानी सुरु गरेका छौं,’ मिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,।
सो मिलले पछिल्लो एक वर्षमा किसानलाई १८ करोड भुक्तानी गरेको वताएको छ । यसैगरी लुम्बिनी सुगर मिलले किसानसँग माघ १ भित्र सबै भुक्तानी गर्ने सहमति गरेको जनाएको छ ।
उखु किसानले मंसिर २८ मा किसानले माइतीघरमा आन्दोलन सुरु गरेका थिए । सो समयमा चारवटा मिलबाट ९० करोड रुपैयाँ बक्यौता पाउन बाँकी रहेको दावी गरेका थिए । तर, उद्योग मन्त्रालयले भने कानुनी अभिलेखमा ५५ करोड रुपैयाँ मात्र बक्यौता रहेको देखिएको जनाएको छ ।
सर्लाहीका उखु किसानले सात वर्षदेखिको बक्यौता माग गर्दै सुरु गरेको काठमाडौं केन्द्रित आन्दोलन १० दिन भैसक्दा पनि किसानले सबै बक्यौता उठाउन सकेका छैनन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार तीन वटा मिलले केहीदिन भित्रै ४९ करोड रुपैयाँ तिर्ने प्रतिवद्धता आएको छ । त्यसमध्ये ३० करोड किसानको खदातामा पठाउन सुरु भइसकेको मन्त्रालयले जनाएको छ।