neapl investment mega bank
  • गृहपृष्ठ
  • व्यावसायिक क्षेत्रका वास्तविक समस्या सम्बोधन हुन्छ : अर्थमन्त्री

व्यावसायिक क्षेत्रका वास्तविक समस्या सम्बोधन हुन्छ : अर्थमन्त्री

Dec 19th, 2020

काठमाडौ, पुुस ४

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, व्यवसाय क्षेत्रका वास्तविक मुद्दाहरुको सम्बोेधन हुने आश्वासन दिनुभएको छ । नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष सुनिलकुमार वंशल नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका अवसरमा शुक्रबार उहाँले जीवन र जीविका दुवैको रक्षा गर्नु सरकारको दायित्व रहेकोले आर्थिक क्षेत्रका वास्तविक समस्याहरुको समाधान गरिने बताउनुभयो ।

उद्योगी, व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेका प्रस्ट पार्दै अर्थमन्त्री पौडेलले व्यवसायी र सरकार मिलेर अघि बढनुपर्ने बताउनुभयो । ‘सरकारले तपाईंहरुलाई दुःख त दिँदै दिँदैन । अहिले सरकार पनि समस्यामा छ, यो बेला तपाईंहरुले पनि सहयोग गर्नुहोस्,’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘अहिले दुःख छ, दुःख सेयरिङ गर्नुपर्यो ।’

अर्थमन्त्री पौडेलले सो अवसरमा कानुनसम्मत व्यवसाय गर्न पनि आग्रह गर्नुभयो । उहाँले सरकार र निजी क्षेत्र मिलेर समृद्धिको लक्ष्यमा पुग्नुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘मिलेरै काम गर्ने हो, अघि बढ्नुस् ।’

सो अवसरमा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले सरकारलाई स्रोतको अभाव भएकाले राजस्व बुझाएर सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । मन्त्रालय अन्तर्गतका कुनै निकाय र अधिकारीले नाजायज दुःख दिएको भए सोको सूचना दिन पनि उहाँले आग्रह गर्नुभयो । पारदर्शी ढंगले काम गर्नेमा मिलेर अघि जान मन्त्रालय तयार रहेको उहाँको भनाइ थियो ।

यसअघि संघका अध्यक्ष वंशलले कोरोना प्रभावित व्यवसायी लक्षित सहुलियत पर्याप्त नभएको र कतिपयले लिनै नसकेको जानकारी गराउनुभएको थियो । उहाँले यस वर्ष अधिकांश व्यवसायीको ब्यालेन्स सिट नेगेटिभ आउने सम्भावना रहेकोले त्यसको समस्या बेलैमा सम्बोधन गर्न अर्थ मन्त्रालयले कदम चाल्नुपर्नेमा जोड दिनुभएको थियो । कालोबजारी ऐन व्यवहारिक नभएकोमा पनि उहाँले ध्यानाकर्षण गराउनुभएको थियो ।

संघका उपाध्यक्ष विनोदकुमार सेठियाले अहिले मुलुकको आर्थिक गतिविधि साबिकको तुलनामा आधा मात्रैमा सीमित रहेको भन्दै आर्थिक गतिविधि बढाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
संघका महासचिव मदन मित्तलले नयाँ पुस्ताले पारदर्शी ढंगले व्यापार, व्यवसाय गर्ने वातावरण खोजेको भन्दै त्यस्तो वातावरण निर्माणतर्फ मन्त्रालय लाग्नुपर्ने बताउनुभयो । भ्याटमा बहुदरको अवधारणा लागू गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्सार मूल्यांकनका समस्या पनि समाधान गर्न आग्रह गर्नुभयो ।

कार्यसमिति सदस्य आकाश गोल्छाले सवारी साधनमा बैंकहरुले प्रवाह गर्ने कर्जा ५० प्रतिशतबाट बढाएर ७०–८० प्रतिशत पुर्याउन सके आर्थिक गतिविधि र राजस्व दुवै बढ्ने बताउनुभयो ।
प्रतिनिधिमण्डलमा संघका अध्यक्ष सुनिलकुमार वंशल, उपाध्यक्ष विनोद सेठिया, महासचिव मदन मित्तल, सचिव अनिलकुमार अग्रवाल र कार्यसमिति सदस्यहरु आकाश गोल्छा, सुशील गुप्ता र प्रभात सर्राफ हुनुहुन्थ्यो ।