neapl investment mega bank
  • गृहपृष्ठ
  • उपराष्ट्रपतिसँग बंगलादेशका नवनियुक्त राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपतिसँग बंगलादेशका नवनियुक्त राजदूतको शिष्टाचार भेट

Dec 15th, 2020

काठमाडौं, मंंसिर ३०

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरी ले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको छ ।
भेटमा उपराष्ट्रपति पुनले बंगलादेश नेपालको घनिष्ठ मित्र राष्ट्र भएको बताउनुभयो । उहाँले स्वतन्त्रतापछि बंगलादेशले हासिल गरेको प्रगतिका लागि बधाई दिनुहुँदै बंगलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौं राष्ट्र भएको स्मरण गर्नुभयो ।

उपराष्ट्रपतिले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणले नेपाल र बंगलादेशको सम्बन्ध अझै उचाईमा पुगेको उल्लेख गर्नुहुँदै नवनियुक्त राजदूत चौधरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ् र विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिले वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा दुई देशले बलियो सहकार्य गर्नुपर्ने बताउनुहुँदै यसबीचमा आउने साझा समस्या र चुनौतीहरुको साझा रुपमै सामना गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९)बाट विश्व छिट्टै सहज अवस्थामा फर्कने र पर्यटन गतिविधि बढ्ने बताउनुहुँदै नेपाल पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताउनुभयो ।

‘कोभिड–१९ बाट विश्वसँगै नेपाल पनि छिट्टै सहज अवस्थामा फर्कनेछ । हामी पर्यटकलाई स्वागत गर्न आतुर छौं’, उपराष्ट्रपतिले भन्नुभयो, ‘बंगलादेशबाट ठूलो संख्यामा पर्यटक नेपाल आउनेमा विश्वस्त छौं ।’ उहाँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई गरेको सहयोगका लागि बंगलादेशलाई धन्यवाद समेत दिनुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा बंगलादेशका राजदूत चौधरीले नेपाल बंगलादेशको अत्यन्तै घनिष्ठ मित्र राष्ट्र भएको बताउनुभयो । बंगलादेशको स्वतन्त्रतापछि नेपालले गर्दै आएको सहयोगका लागि धन्यवाद दिंदै उहाँले बंगलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौं राष्ट्र भएको बंगलादेशी जनताले कहिल्यै नबिर्सने बताउनुभयो ।

उहाँले बंगलादेशका राष्ट्रपतिको भ्रमणले दुई देशबीचको समन्ध थप मजबुत बनेको उल्लेख गर्नुहुँदै नेपाल आउनुअघि भएको भेटमा राष्ट्रपति हमिदले आफ्नो नेपाल भ्रमणको क्रममा पाएको न्यानो आतिथ्यता र स्वागत सत्कारका लागि नेपाली नेता र जनतालाई कृतज्ञता सुनाइ दिनु भनेको बताउनुभयो ।

राजदूत चौधरीले वाणिज्य र पर्यटनमा नेपालसँग बंगलादेशले सहकार्य विस्तार गर्न चाहेको बताउनुभयो । उहाँले आगामी साता बंगलादेशबाट नेपालले मल किन्ने सम्बन्धी संझौता हुने बताउनुभयो । उहाँले प्राकृतिक सौन्दर्यताका लागि बंगलादेशीहरुका नेपाल पहिलो रोजाई भएको बताउनुभयो । ‘एडभेन्चर टुरिजमका लागि भन्नै पर्दैन बंगलादेशीहरुको पहिलो गन्तव्य नेपाल हो,’ उहाँले भन्नुभयो ।

राजदूत चौधरीले बंगलादेश ‘क्लिन इनर्जी’प्रति प्रतिबद्ध भएको उल्लेख गर्नुहुँदै सोको लागि नेपालको बिजुली किन्न चाहेको बताउनुभयो । ‘बंगलादेश नेपालको बिजुली किनेर भारत हुँदै लैजान चाहन्छ । किनकी यो क्लिन इनर्जी हो,’ उहाँल भन्नुभयो ।राजदूत चौधरीले उपराष्ट्रपति पुनसँग उपर्युक्त समयमा बंगलादेशको भ्रमण गर्न आग्रह गर्नुहुँदै सो भ्रमणले दुई देशको सम्बन्ध अझै सुदृढ् हुने बताउनुभयो ।