आधारभूमि संवाददाता
काठमाडौं, मंसिर २२
नेपाल राष्ट्र बैंकले सेयरकर्जाको पुनरावलोकन गर्ने भनेसँगै सेयरबजारमा पहिरो गएको छ । ऋण लगानी नभएर बैंकमा रकम थुप्रिएको बेलामा राष्ट्र बैंकले सेयर बजार अस्वाभाविक रुपमा बढेको भन्दै सेयर कर्जामा कडाई गर्न लागेको छ ।
बिहिबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको संसोधन गर्दै सेयरमा जाने कर्जा पुनरावलोकन गर्ने घोषणा गर्याे । त्यसपछि खुलेको बजार आइतबार १ सय २३ अंकले घट्यो । जुन अहिलेसम्मकै उच्च अंकको घटाई हो ।
राष्ट्र बैंकले सेयर कर्जाका लागि दिने कर्जामा कडाई गर्ने र अब बजार घट्ने भन्ने भयका कारण लगानीकर्ताले अत्तालिएर बेच्दा बुलिस ट्रेन्डमा रहेको बजार सर्किट ब्रेक लागेर कारोबार समय अगाडी नै बन्द भएको छ ।
बैंकहरुमा १ सय ४४ अर्ब बराबरको रकम लगानीकर्ता कुरेर बसेको छ । तरपनि तरलता व्यवस्थापन गर्ने जिम्मा पाएको नेपाल राष्ट्र बैंकले भने सेयरमा गएको कर्जामा कडाई गर्ने सकेंत देखाएको छ । जबकी गत साउनमा राष्ट्र बैंकले नै सेयरमा जाने कर्जा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत सम्म दिन पाइने बनाएको थियो ।
महामारीका कारण कम्पनीहरुको आम्दानी घटेको तर यस्तो बेलामा बजार अस्वाभाबिक रुपमा बढेको राष्ट्र बैंकको बुझाई छ । जसलाई नै नियन्त्रण गर्न राष्ट्र बैंकले संसोधनको तयारी थालेको हो । यस्तो सेयर कर्जा कति घटाउने भन्ने अझै टुंगो नलागेको र बजारको वजारको प्रबृति हेरेर निर्णय लिने राष्ट्र बैंक बताउँछ ।
गत बिहिबार सम्ममा नेप्से परिसुचक एकै महिनामा ४ सय १८ अंकले बढेर २०६३ अंकमा पुगेको थियो, जुन आइतबार घटेर १९३२ अंकमा झरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा आएपछि लगानीकर्तामा केहि त्रास देखिन्छ ।
राष्ट्र बैंकले कर्जामा धेरै नै कडाई गर्ने हो कि भन्ने भय सिर्जना भएपछि बिहिबार लगानीकर्ताका ५ वटा संघ नै यस्तो कर्जा सम्वन्धि व्यवस्था अहिलेका लागि यथावत राख्न भन्दै राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएका छन् ।
राष्ट्र बैंकको व्यवस्थाले सेयर बजारमा असर पार्नु नपर्ने हो । किनकी राष्ट्र बैंक सेयरबजारको नै नियमनकारी निकाय नै चाहि होइन । कर्जामा कडाई गर्छ कि भन्ने भय भन्दा पनि आफुले खरिद गरेको कम्पनीबाट पाउने लाभांस र वित्तीय स्थिती हेरेर मात्रै किन्ने र बेच्नेको निर्णय गर्नुपर्छ ।