neapl investment mega bank
  • गृहपृष्ठ
  • समाचार संकलनका क्रममा चार जना पत्रकारमाथि भएको दुव्र्यवहारमा महासंघको गम्भीर ध्यानाकर्षण

समाचार संकलनका क्रममा चार जना पत्रकारमाथि भएको दुव्र्यवहारमा महासंघको गम्भीर ध्यानाकर्षण

Dec 4th, 2020

काठमाडौं, मंसिर १९

समाचार संकलनका क्रममा झापाका चार जना पत्रकारमाथि मालपोत र भन्सार कार्यालयका कर्मचारीबाट भएको दुव्र्यवहार र कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ झापा शाखाका अनुसार मंसिर १६ गते समाचार संकलनका लागि मालपोत कार्यालय दमक पुगेका अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरे र क्यामरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोतका कर्मचारी इन्द्र राजवंशीले एक सेवाग्राहीसँग घुस लिइरहेको भिडियो खिचिरहेको अवस्थामा राजवंशी लगायतका व्यक्तिहरुले आक्रमण गर्नुका साथै क्यामेरा खोसेका थिए ।

यसैगरी मंसिर १२ गते न्यूज २४ का झापा जिल्ला संवाददाता राजु पौडेल र पत्रकार नारायण अर्याललाई भन्सार छलीसम्बन्धी समाचार संप्रेषण नगर्नका लागि ५० हजार घुस दिँदा नलिएको भन्दै भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी सुबोध कोठारीले पत्रकारद्वयलाई दुव्र्यवहार गरेका थिए ।

नागरिकलाई सुसूचित गराउने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि मालपोत र भन्सार कार्यालयका कर्मचारीबाट भएको कुटपिट र दुव्र्यवहारको घटना प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । महासंघ प्रेसको संवैधानिक अधिकारमाथि आघात पुग्ने यस्ता घटनाको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनामा संलग्न कर्मचारीहरुमाथि कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा पत्रकारको सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।