आधारभूमि संवाददाता
काठमाडौं, मंसिर १८
विदेशबाट आउने तयारी पोसाक आयातमा अहिले ३१ प्रतिशतले कमि आएको छ । महामारीका कारण भन्सार नाकामा भएको असहजता र ब्यापारीले समयमै कपडा मगाउन नसक्दा तयारी पोसाक आयातमा कमि आएको हो ।
यता बिदेशबाट आयातमा कमि आएपछि स्वदेशी तयारी पोशाक उद्योगले भने उत्पादन बढाएका छन् । अहिले देशभर बिदेशमा कपडा निर्यातका लागि करिब ७० वटा उद्योग सञ्चालनमा रहेका छन् ।
यस्तै विदेशबाट तयारी पोशाक आयातमा ३१ प्रतिशतले कमि आएको भएपनि बजारमा भने प्रशस्त मात्रामा कपडा देखिन्छन् । महामारी पछि स्वदेशकै उद्योगले आन्तरिक बजारकालागि उत्पादन बढाएसँगै विदेशी कपडा केहि हदसम्म भएपनि प्रतिस्थापन भएको ब्यापारीहरु बताउँछन् ।
महामारी अघि यहाँका ७० वटा उद्योगले सबैजसो सामान बिदेशमा निर्यात गर्थे । तर, विदेशबाट आउने मागमा कमि र स्वदेशमा माग बढेसँगै यसले यो वर्षदेखि आन्तरिक उत्पादनलाई लक्षित गरेर उत्पादन थालेको छन् ।
गत वर्षसम्म मुस्कीलले कुल उत्पादनको ५ प्रतिशत आन्तरिक बजारमा बिक्री गर्ने यि उद्योगले अहिले ५० प्रतिशत आन्तरिक बजारमा नै बिक्री गरिरहेको छन् ।
महामारीका कारणले भन्सार नाकाबाट सहज रुपमा सामान आउन नसकेपछि यहाँका ब्यापारीले स्वदेशी कपडा उद्योगीसँग कपडाको माग गरेका थिए । अहिल विदेशबाट थान कपडा ल्याएर तयारी पोशाक बनाउने क्रम बढेको छ ।
उद्योग मात्रै हैन विभिन्न टेलरिङ सेन्टरले पनि भटाटभट ज्याकेट बनाइरहेका छन् । तर, नेपाली उत्पादन भनेपछि यहाँका ग्राहकले कमसल ठान्ने भन्दै लोगो भने विदेशी ब्रान्डको लगाउने गरिएको छ ।
आन्तरिक उत्पादन बढेपछि पछिल्लो समय बिदेशबाट आउने तयारी पोशाकमा समेत कमि आएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको कात्तिक मसान्त सम्म १४ अर्ब ७३ करोडको कपडा आयात भएकोमा यो वर्षको सोहि अवधिमा १० अर्ब १० करोेडको मात्रै कपडा आयात भएको छ ।
यसरी हेर्दा कपडा आयातमा ३१ करोडको कमि आएको छ । आयातमा आएको कमिले कपडाबाट हुने भन्सार राजस्व भने गत वर्षको तुलनामा २ अर्बले कमि आएको छ । भन्सार राजस्वमा कमि आएपनि आन्तरिक उत्पादनको खपत बढाउन सकियो भने यहाँ थप रोजगारी सिर्जना हुने मात्रै होइन, यसले अर्थतन्त्रमा पनि थप योगदान पुराउनेछ ।
बिपत अहिले कपडा उद्योगमा भने स्वदेश बुझने अवसर भएको छ । ब्यापारीले आन्तरिक उत्पादनको महत्व र उद्योगीले आन्तरिक बजारको महत्व बुझेका छन् ।