neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पशुपतिमा थपियो वातावरणमैत्री शवदाह गृह ,संरचना विकास गरिने

पशुपतिमा थपियो वातावरणमैत्री शवदाह गृह ,संरचना विकास गरिने

Dec 2nd, 2020

काठमाडौँ, १७ मङ्सिर /रासस

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले विश्वभरका धार्मिक पर्यटकलाई पशुपति क्षेत्रमा भित्र्याउने गरी विकास निर्माणका काम अघि बढाउन लागिएको बताउनुभएको छ ।

पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकले आज संयुक्त रुपमा आयोजना गरेको वातावरणमैत्री शवदाहगृह हस्तान्तरणका अवसरमा उहाँले प्रस्तावित गुरुयोजनालाई अन्तिमरुप दिन मन्त्रालयले प्राविधिक समिति गठन गरेको जानकारी दिनुभयो । समितिले स्थानीयवासीलगायत सरोकार निकायसँग छलफल गरी तीन महिनाभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने छ ।

“मन्त्रिपरिषद्ले स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक, सांस्कृतिक सम्पदालाई खुला गर्ने निर्णय गरेको छ, कोरोना सङ्क्रमण नफैलने गरी कोषले दर्शनार्थीलाई मन्दिर प्रवेश गराउनेछ”, उहाँले भन्नुभयो । कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रमा शवदाह गर्नेको सङ्ख्या बढ्न थालेकाले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शवदाहगृह बढाउन लागिएको बताउनुभयो ।

थपियो वातावरणमैत्री शवदाह गृह

वातावरणमैत्री शवदाहगृहमा १०० देखि १५० केजी दाउरामा शव जलाउन सकिने छ । हाल भष्मेश्वर र आर्यघाटमा शव जलाउँदा कम्तीमा ४०० केजी दाउरा लाग्ने गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

बैंकले रु ७५ लाखको लागतमा शवदाहगृह निर्माण गरी आज कोषका सदस्य सचिव ढकाललाई हस्तान्तरण गरेको हो । शवदाहगृह हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले कम दाउरा लाग्ने र वातावरणमैत्री भएकाले यसको माग देशभर भइरहेको बताउनुभयो ।

बैंकले यसअघि पोखरा र भैरहवामा पनि यस्तै शवदाहगृह निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जनाइएको छ । यो शवदाहगृहमा शव जलाउन पनि कम समय लाग्नेछ । एकदेखि सवा घण्टामा शव जलाइसकिने कोषले जनाएको छ । भष्मेश्वरघाटतिर भने एउटा शव जलाउन कम्तीमा पनि तीन घण्टा लाग्छ ।

यो यन्त्रमा शवदाहबाट निस्कने धुवाँ भिजेको चिम्नी हुँदै जाने व्यवस्था मिलाइएकाले बाहिर पुग्नुअघि नै शुद्धीकरण भइसक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत नेगीले बताउनुभयो । पशुपति क्षेत्रको आर्यघाट र भष्मेश्वर घाटमा गरी १८, विद्युतीय शवदाह गृहमा दुई, वातावरणमैत्री एक गरी तीनवटा शवदाहगृह सञ्चालनमा छन् । विद्युतीय शवदाहगृहमा एउटा यन्त्र थप्ने तयारी भइरहेको कोषले जनाएको छ ।

कोभिड–१९ बाट निधन भएकाको शव विद्युतीय शवदाहगृहमा जलाउने गरिएको छ । आजैदेखि सञ्चालनमा आएको वातावरणमैत्री शवदाह गृहमा पनि कोभिड –१९ बाट निधन भएकाको शव जलाउने तयारी भएको कोषले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi