काठमाडौँ, ११ मङ्सिर /रासस
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनःनिर्माण गरिने बताउनुभएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको नारायण चतुव्यूह नारायण मन्दिर प्रवेशद्धारको आज उद्घाटन गदै मन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका एक हजार सम्पदामध्ये ५०० भन्दा बढी निर्माण सम्पन्न भएको र आउँदो दुई वर्षभित्र सबै पुनःनिर्माण गरीसक्ने बताउनुभयो ।
मन्त्री भट्टराईले रानीपोखरी, दरबार हाइस्कुल, पाटन, पशुपति क्षेत्रलगायत अधिकांश क्षेत्रको पुनःनिर्माण सम्पन्न भएको बताउँदै २२ तले धरहराको पुनःनिर्माणको काम पनि १८ तलासम्मको सम्पन्न भएको जानकारी दिनुभयो । सांस्कृतिक तथा धार्मिक सम्पदा मानव सभ्यताको प्रतीक भएको बताउँदै मन्त्री भट्टराईले मन्दिर, गुम्बा चैत्यको उचित संरक्षण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न काल खण्डको इतिहास संरक्षण गर्दै युगौयुगसम्म बचाउनुपर्ने सरकारको दायित्व हो । इतिहासमा के कस्तो काम भएका थिए, लिच्छबी काल र मल्लकालमा कस्तो थियो, ती सबै भावी पुस्ताले हेर्न तथा अध्ययन गर्न सक्नेगरी संरक्षण गर्न सरकार लागि परेको छ ।” पर्यटनमन्त्री भट्टराईले काठमाडौँको धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोडेर सर्किटको रुपमा विकास गरिने बताउनुभयो ।
पूर्वमन्त्री एवं सांसद गगनकुमार थापाले काठमाडौँको नागपोखरी आसपासमा रहेको सात वटा १०० वर्षभन्दा पुराना घरको संरक्षण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले पशुपतिदेखि नारायणहिटी दरबारसम्मका विभिन्न पुरातात्विक सांस्कृतिक सम्पदाको एउटै प्याकेज बनाएर संरक्षण गर्न अनुरोध गर्नुभयो । अर्का सांसद भीमसेनदास प्रधानले नारायण मन्दिर लिच्छवीकालीन ऐतिहासिक मन्दिर भएको कारण यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।