वाग्मती, ११ मड्सिर /रासस
मकवानपुरको भीमफेदी–कागते–इपा–सिस्नेरी सडकखण्ड निमार्णको काम दु्रतगतिमा भइरहेको छ ।
सङ्घीय सरकारको रु ३४ करोडको लागतमा सो सडकखण्ड र त्यसमा पर्ने पुल निमार्णको काम द्रुतगतिमा भइरहेको हो । रु २६ करोडको लागतमा नालीसहित पक्की सडक र रु आठ करोडको लागतमा पक्की पुल निमार्ण गर्न लागिएको छ । मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको विशेष पहलमा २६ किलोमिटर सो सडकखण्ड निमार्णको काम भइरहेको बताइएको छ ।
सडक निमार्णसँगै भीमफेदी कोगटेमा दुई वटा पुल निमार्णको काम पनि अघि बढाइएको छ । सो सडकखण्ड र पुल निर्माण कार्यको आज प्रतिनिधिसभा सदस्य खतिवडा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालगायत प्राविधिक टोलीले स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको छ ।
अनुगमनका क्रममा सडक र पुल निर्माणको काम द्रुतगतिमा अगाडि बढेको देखिएको सांसद खतिवडाले बताउनुभयो । उहाँले तोकिएको समयमा नै पुल तथा सडक निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।
यसैगरी भीमफेदीको गट्टेखोलामा दुई वटा पक्की पुलको निर्माण शुरु भएको छ । उक्त पुल र सडक निर्माण भएपछि स्थानीयवासीलाई आवातजावत र व्यावसायिक कारोवार गर्न थप सहजहता हुने अपेक्षा गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो ।