neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंकहरुको आधार दर घट्यो, अब कर्जाको ब्याज झनै सस्तीने

बैंकहरुको आधार दर घट्यो, अब कर्जाको ब्याज झनै सस्तीने

Nov 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर ८

२७ मध्ये २६ वटा बाणिज्य बैंकको आधार दर घटेको छ । आधारदर घटेसँगै कर्जाको ब्याजदर पनि बैंकहरुले थप घटाएका छन् ।ब्याजदर घटसँगै पछिल्लो समय कर्जाको माग बढ्न थालेको छ ।

कोरोना महामारीका कारण ब्यवसायमा शिथिलता आएपछि अहिले लगानीकर्ताहरुले लगानी बिस्तार नगरि बसेका छन् । नयाँ लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा रहेकाले उनिहरुले आफुहसँग भएको पैसा समेत बैंकमा लगेर थुपारेका छन् । जसका कारण अहिले बैंकिङ प्रणालीमा १ खर्ब ७० अर्ब अधिक तरलता छ । ऋणको तुलनामा निक्षेप संकलन ह्वात्तै बढेपछि बैंकहरुले निक्षेपको ब्याज घटाए ।

निक्षेपको ब्याज घटेसँगै बैंकहरुको आधार दर समेत घटेको छ । बैंकहरुले हालैमात्रै प्रकाशित गरेको असोजसम्मको वित्तीय विवरण अनुसार २७ मध्ये २६ बैंकको आधार दर घटेको देखिन्छ । गत असार मसान्तमा बैंकहरुको औसत आधार दर ८ दशमलव पाँच रहेकोमा असोजमसान्तमा ७ दशमलव सात नौ कायम भएको छ ।

राष्ट्रिय बाणिज्य बैंकको आधार सबैभन्दा कम अर्थात ५ दशमलव सात चार रहेको छ । आधार दर सबैभन्दा कम राष्ट्रिय बाणिज्य बैंकको भएपनि सबैभन्दा सस्तो ब्याजदरमा ऋण भने भने नेपाल बैंकले दिएको छ । ६ दशमलव आठ एक आधार दर रहेको नेपाल बैंकले व्यवसाय गर्नेहरुका लागि कर्जा भने ६ दशमलव ९९ मा नै दिएको छ । यसरी कर्जाको ब्याज सस्तीएपछि कर्जा प्रवाह पनि बढेको बैंकर्स बताउँछन् ।

गत बिहिबार नेपाल राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन जारी गरेको थियो । जसमा बैंकहरुले २३ अर्बको मात्रै आवेदन दिएका छन् । राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा लगानी गर्न नचाहनुले पनि बैकहरुबाट कर्जा प्रवाह बढेको पुष्टि हुन्छ ।

बैंकहरुले आधार दर भन्दा तल गएर कर्जा दिन पाउँदैनन् । आधार दरमा केहि प्रिमियम जोडेर उनिहरुले ऋण दिने गरेका छन् । कर्जा र निक्षेपको ब्याजदर अन्तर ४ दशमलव ४ भन्दा बढि नहुने गरि बैंकहरुले निक्षेपको ब्याज भने आफैले निर्णय गर्न सक्छन् ।

निक्षेपको ब्याज घटेसँगै कर्जाको ब्याजदर घटाउन स्वत दवाव पर्छ । गत वर्षको असोज मसान्तमा कर्जाको भारित औसत ब्याजदर १२ प्रतिशत रहेकोमा यो वर्षको सोहि अवधिमा ९ दशमलव ८ प्रतिशत छ । निक्षेपलाई मूख्य आयस्रोत बनाएकाहरुलाई भने अहिले घटेको ब्याजदरले असर गर्ने देखिन्छ ।

कर्जामा घटेको ब्याज लगानीकतार्का लागि ऋण लिनका लागि भने उपयुक्त हुनसक्छ । बैंकमा पैसा राखेर कम ब्याज पाइने र ऋण लिदा पनि सस्तो दरमै कर्जा पाइने भएकाले यो बेला लगानी बिस्तार गर्नु उचित देखिन्छ ।