neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

कोरोना कालको छठ : आँगनमै जलकुण्ड

Nov 20th, 2020

झापा, ५ मङ्सिर /रासस

मेचीनगर–१० धुलावारीका अशोक पोद्दारले आफ्नै आँगनमा कृत्रिम जलकुण्ड बनाएर यसपालीको छठ पूजामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभयो । घरमै छठी मैयाको पूजा गर्ने यो नौलो विधिमा उहाँका परिवारका सदस्य मात्र सामेल भए । “पहिले पहिले निन्दा नदीमा गएर सूर्यलाई दूध र जल अर्पण गथ्र्यौँ”, पोद्दारले कोरोना सङ्क्रमणको डरले यसपाली घरमै चाड मनाइएको बताउँदै भन्नुभयो, “यसपाली कोरोनाले यस्तै भयो, अर्को साल फेरि खोलामा जाउँला ।”

कोभिड–१९ को महामारीका कारण आज बेलुकी अधिकांश तराईवासी विभिन्न समुदायले प्राकृतिक नदी र तलाउमा गएर पूजापाठ गर्नुको साटो घर परिसरमै जलकुण्ड बनाएर गरी पर्वको विधिविधान पालना गरे । धुलावारीकै सरिता रौनियारले घर नजिकैको कुचो उद्योग परिसरभित्र जेसीबीले जलकुण्ड बनाएर चिटिक्क सिङ्गारिएको मण्डपमा सामूहिक पूजापाठ गर्नुभयो ।

सरकारले खोला र तलाउमा भीड गर्दा कोरोना सङ्क्रमण बढ्छ भनेर घरमै छठ मनाउन आह्वान गरेको हुँदा अधिकांश ब्रतालुले परिस्थितिको गम्भीरतालाई मनन् गर्दै छठ पर्वलाई परिवारभित्रै सीमित तुल्याएको उहाँले बताउनुभयो । झापाको मेची, निन्दा, कनकाई, बिरिङ, देउनीया, रतुवालगायत नदीमा पण्डाल टाँगेर यसपाली वृहत तथा सामूहिक छठ पूजा गरिएन । भद्रपुरको मेची नदी किनारमा केही सुकुम्बासीले मात्र मण्डप बनाएर पूजापाठ गरे ।

भद्रपुर निवासी झापा उद्योग वाणिज्य सङ्घका महासचिव पंकज शर्माका अनुसार बिगतमा हजारौंको सङ्ख्यामा छठका ब्रतालु मेची नदीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिन भेला हुने गर्थे तर यसपाली मेची किनारमा बसोबास गर्दै आएका सुकुम्बासीका केही परिवारले मात्र नदीमा पूजापाठ गरेको शर्माले बताउनुभयो ।

प्रदेश नं १ मै विराटनगरपछि धेरै ब्रतालुले सामूहिक पूजा गर्ने थलो मानिएको थियो भद्रपुरको मेची नदी । यसपाली मेची किनारमा विगतको जस्तो रौनक छैन । आफ्नो घर हुने अधिकांश परिवारले निजी जग्गामा सानो जलकुण्ड निर्माण गरेको पाइएको छ । कृत्रिम जलकुण्डमा धाराबाट पानी भरेर अधिकांश ब्रतालुले पूजाको विधि पूरा गरेको शर्माले बताउनुभयो ।

विर्तामोड, कनकाई र दमकमा पनि अधिकांश ब्रतालुले आफ्नै घर परिसरमा जलकुण्ड बनाएर पूजा गरेका छन् तर जग्गा नभएका र भाडामा बस्दै आएका परिवारले भने खाली चौर र नजिकको खोलामै गएर पूजापाठ गरे ।

गौरीगञ्ज बजारमा रहेको गेउरीया खोला र विर्तामोडको अन्धुवा खोलामा अन्यत्रभन्दा केही भीडभाड भयो । स्थानीय नगरपालिका, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेको कारण खोला र तलाउको साटो आफ्नै घर परिसरमा जलकुण्ड र मण्डप बनाएर छठको पूजा गर्न आग्रह गरेका थिए तर ती दुई स्थानमा सामूहिकरुपमा छठ मनाइएको छ ।

विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै स्थानीय सरकारले गरेको आग्रहलाई स्थानीयवासीले पालना गरेको बताउनुभयो । “खोला र बजारमा भीडभाड छैन, शान्तिपूर्णरुपमा घरघरमै छठ पूजा हर्षोल्लासपूर्वक मनाइएको छ”, उपप्रमुख प्रसाईले भन्नुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गौरीगञ्जको गेउरीया खोलामा बाहेक अन्यत्र खोलामा भीडभाड गरी सामूहिक पूजा नभएको र घर परिसरमै विधिपूर्वक पर्व मनाएको पाइएको बताउनुभयो । उहाँका अनुसार झापामा दसैं, तिहारमा जस्तै छठ पर्वसमेतमा जनसमुदायले संयमित भएर चाडपर्व मनाएको उल्लेख गर्दै यसमा स्थानीय पालिका, मिडिया र प्रहरीको सहयोग रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi