वासिङ्टन,४ मङ्सिर /रासस/पिटिआई
अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण गर्न आनाकानी गर्ने संकेत गरिरहेका बेला ट्रम्पकै पार्टीका नेताले सत्ता हस्तान्तरण समयमै हुने दाबी गर्नुभएको हो ।
रिपब्लीकन पार्टीका शिर्ष नेता तथा सिनेटर मिट्च म्याककोनलले कानुनी व्यवस्था र निर्धारित समयानुसार नै सत्ता हस्तान्तरण हुनेमा ढुक्क हुन आह्वान गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई समयमै सहजै सत्ता हस्तान्तरण नगर्ने हो की भन्ने चिन्ता र चासो अमेरिकामा अत्यधिक देखिएको छ । कतिपयले समयमै सत्ता हस्तान्तरण हुनेमा आशंका र त्रास व्यक्त गरेका छन् ।
अमेरिकामा हालै भएको निर्वाचनबाट ७७ बर्र्षीय बाइडेन निर्वाचित हुनुभएको औपचारिक रुपमा घोषणा भइसकेको छ भने ७४ बर्षीय वर्तमान राष्ट्रपति ट्रम्पले बाइडेनको जित र आफ्नो हार अझै स्विकार्नु भएको छैन ।
ट्रम्पले कतिपय ठाउँमा मतदानका बेलामा धाँधली भएको दाबी गर्दै पुनः मतदान गर्न वा पुनः मतगणना गर्न माग गर्दै आउनु भएको छ । उहाँले मागमा कुनै आधार तथा प्रमाणहरु नभएको भन्दै न्यायाधिशहरुले उहाँको मागलाई खारेज गरिदिएपनि ट्रम्पले आफ्नो माग छोड्नु भएको छैन ।
अमेरिकामा राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्नेमा नवनिर्वाचित वाइडेनले ३०० भन्दा बढी प्राप्त गर्नु भएको छ ।अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन सत्ता हस्तान्तरण गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
अमेरिकी उपराष्ट्रपतिमा यस पटक कमला ह्यारिस निर्वाचित हुनुभएको छ । उहाँ पहिलो महिला उपराष्ट्रपति समेत भएको बताइएको छ ।