काठमाडौ, कात्र्तिक २६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले महागुरु फाल्गुनन्दको दिव्यज्ञान अनुसरण गरेर नेपाली समाज सत्मार्गमा हिंड्नु आवश्यक भएको बताएका छन् । महागुरु फाल्गुनन्दका शान्ति, धर्म र अहिंसाको पदचिन्ह आम नेपालीका निम्ति प्रेरणा बन्नु पर्ने अध्यक्ष राणाको भनाइ छ । सदाचार र सद्भावको बाटो अंगालेर भड्कीलो जीवन पद्धति त्याग्नु पर्नेमा उनले जोड दिएका छन् ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३६ औं जन्मजयन्तीको अवसरमा मंगलबार एक सन्देश जारी गर्दै राणाले सो कुरा बताएका हुन् । ‘राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३६ औं जन्मजयन्तीको अवसरमा महागुरुका शान्ति, धर्म, अहिंसा, सदाचार, सद्भाव, मितव्ययी जीवन पद्धति लगायतका दिव्यज्ञानले आम नेपाली र सम्पूर्ण समाजलाई सत्मार्गमा हिंड्न प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु,’ ट्वीट गर्दै राणाले भने ।
