neapl investment mega bank
  • गृहपृष्ठ
  • कालीगण्डकी करिडोरको रानीपानी–कुर्घा खण्ड कालोपत्रे गर्न बजेट स्वीकृत

कालीगण्डकी करिडोरको रानीपानी–कुर्घा खण्ड कालोपत्रे गर्न बजेट स्वीकृत

Nov 11th, 2020

पर्वत २६ कात्तिक /रासस

दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानी–कुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ । पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवास नगरपालिका–१० कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक रु एक अर्ब २४ करोड बजेटसहित बहुवर्षीय ठेक्काका लागि अर्थमन्त्रालयले स्वीकृति दिएको हो ।

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको यो खण्डका लागि बजेट सुनिश्चित भएसँगै अब छिट्टै बोलपत्र आह्वान गरिने कालिगण्डकी करिडोर सडक आयोजना ९गँैडाकोट–राम्दी–मालढुङ्गा० प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो । “बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ”, प्रमुख देवकोटाले भन्नुभयो, “अब केही दिनभित्रै बोलपत्र आह्वानको प्रक्रिया शुरु गर्छौँ ।”

प्रमुख देबकोटाका अनुसार करिडोरको रानीपानी–कुर्घा खण्ड ‘डबल लेन’मा सात मिटर कालोपत्रे हुनेछ । यो सडक कालोपत्रेका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निरन्तरको प्रयासका कारण बहुवर्षीय ठेक्का स्वीकृत भएको हो । अध्यक्ष र सचिवालयले आयोजनाको कार्यालयदेखि, सडक विभाग, भौतिक मन्त्रालय, योजना आयोग हुँदै अर्थ मन्त्रालयसम्म पहल गर्नुभएको करिडोर प्रमुख देवकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अध्यक्षले शुरुदेखि अन्तिमसम्म लगातार प्रयास गरेपछि मात्र कालोपत्रेका लागि बहुवर्षीय ठेक्का स्वीकृत सम्भव भएको हो ।”

ठेक्का सुनिश्चित भएसँगै करिडोरको पर्वत खण्डमा पर्ने लमायखोलादेखि अर्मादीसम्म मात्रै कालोपत्रेका लागि बाँकी रहने छ । सो खण्डमा समेत अहिले ट्र्याक खोल्ने काम भइरहेको छ । पुससम्ममा ट्र्याक खोल्ने काम सकेर त्यसलाई पनि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइने प्रमुख देवकोटाले जानकारी दिनुभयो । पर्वतको अर्मादीदेखि स्याङ्गजाको सेतीवेणीसम्मको ५३ किमीमध्ये मिर्मीदेखि सेतीवेणीसम्मको सात किमीमा सडक कालोपत्रेको टेण्डर भइसकेको छ भने सेतीवेणीदेखि रानीपानीसम्मको सात किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ ।

कालीगण्डकी करिडोरको पर्वत खण्डको महत्वपूर्ण मानिएको रानीपानी–कुर्घा खण्डको ठेक्का निश्चित भएपछि बिहादी र फलेवासका स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । सडक कालोपत्रे भएपछि बिहादी गाउँपालिकाले सबैभन्दा बढी फाइदा लिने अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो । लोकमार्ग किनारमा रहेका रानीपानी, बर्राचौर, बाच्छा, पाङराङमा बस्ती विकास हुनेछ ।

तराई र मधेशसँग प्रत्यक्ष सम्पर्क हुने तथा सेतीवेणी जस्ता धार्मिक पर्यटकीय स्थलको विकासका लागि समेत सहयोग पुग्ने अध्यक्ष भुसालले बताउनुभयो । “यो सडक कालोपत्रे भएपछि बिहादी गाउँपालिकाको आर्थिक र सामाजिक विकासमा कायपलट हुनेछ”, उहाँले भन्नुभयो “राष्ट्रिय राजनीतिमा पर्वतका जनप्रतिनिधिहरुको पहुँचका कारण यो सम्भव भएको हो ।” यसैबीच करिडोरअन्तर्गत मालढुङ्गादेखि बेनीसम्मको सडकको स्तरोन्नतिका लागि हालै बोलपत्र आह्वान भएको छ ।