काठमाडौ, कात्र्तिक २४
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्व सशस्त्र प्रहरी संघ बीच संघका सदस्यहरुलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोर कुमार लामाले हस्ताक्षर गरेका हुुन ।
सम्झौता भएपश्चात नेपाल पूर्व सशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिश गर्ने छ । बैंकले सिफारिश भएर आएका सदस्यहरुलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही अधिकतम दश लाख रुपैंयासम्म आधार दरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्ने छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सशस्त्र प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछी पनि साना तथा मध्यम व्यवसाय गरी उत्पादनसँग जोडिइ आफ्नो आर्थिक अवस्था सुधार गर्न यो कर्जाले सघाउ पुर्याउने बताए । त्यैगरी संघका अध्यक्ष किशोर कुमार लामाले अवकाश प्राप्त सुरक्षाकर्मी साथीहरुले नोकरी पछी बैदेशिक रोजगारीमा नगई नेपालमै केही कार्य गर्न सकिने बताए । समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी तथा संघकाका बरिष्ठ उपाध्यक्ष डा.ठाकुर मोहन श्रेष्ठले मन्तब्य व्यक्त गरे ।
उक्त समारोहमा बैंकका उप कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु विनयरमण पौडेल, पद्यमा जिसी, उपप्रमुख दामोदर ज्ञवाली, प्रबन्धक बालकुमार थापा र संघका तर्फबाट सचिव कविराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कम्पनी सचिव भोलानाथ पौडेलले संचालन गरेका थिए । बैंकको हाल ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।